प्यास मेटाउने पानीमा झाडाका किटाणुसम्म, कारबाहीको लागि मुद्दा हाल्यो सरकारले



काठमाडौं । गर्मी वा जाडो जस्तोसुकै मौसम होस्, पानी पिउनै पर्छ । पिउने पानीको कुरा गर्दा शुद्ध भनेर हामी निर्भिकताका साथ बजारमा पाइने प्लाष्टिक बोतलका मिनिरल वाटर पिउने गछौंं ।

तर, बजारमा पाइने यस्ता मिनिरल वाटर नै पिउन अयोग्य भेटिएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले गरेको नमुना परीक्षणमा केही पानी पिउन अयोग्य भेटिएका हुन् ।

गत साउनदेखि कात्तिकसम्ममा अनुगमन गरी विभिन्न ब्राण्डका ९०३ नमूना संकलन गरिएको बिभागले जानकारी दिएको छ । नमुना संकलन गरिएकामध्ये ११५ नमूनाहरु अर्थात १७ प्रतिशत जति नमुना पिउन अयोग्य पाइएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए । यसमध्ये पनि ३८ वटा नमुना पानी दुषित पाइएको वस्तीको भनाइ छ ।

विभागका अनुसार रसायनिक तत्व थपी बनाएको खनिजयुक्त पानीको रंग, स्वाद स्वभाविक र गन्ध रहित भएको हुनुपर्ने छ । खनिजयुक्त पानी प्याकिङ्ग नगरी ओसार पसार गर्न पाइने छैन भने खनिजयुक्त पानी सफा र निरोगन गरिएको आद्य ग्रेडको प्लाष्टिक वा काँचको भाडामा प्याक गरिएको हुनुपर्ने छ ।

तोकिएको मापदण्ड पूरा नभएको पाइएपछि विभागले केही ब्राण्डका पानीमाथि कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ । यसरी मुद्दा दायर गरिएकामा जलप्योर ड्रिकिङ्ग वाटर, नेचुरल स्प्रिङ्ग वाटर र स्तुपा इण्डष्ट्रिजद्धारा प्रशोधित पिउने पानी रहेका छन् । यी कम्पनीले उत्पादन गर्ने पानीमा न्यूनगुणस्तर हुनुका साथै दुषित पाइएको विभागको भनाइ छ ।

जलप्योर ड्रिकिङ्ग वाटरमा पिएचको मात्रा तोकिए अनुसार नभएको पाइएको विभागको भनाइ छ । पिएच भन्नाले पानीमा हुने अमलीयपन हो । पानीमा पिएच कम भएमा पानीको स्वाद फरक हुने भएकाले पानीमा पिएचको मात्रा ६.५ देखि ८ सम्म हुनुपर्ने प्रवक्ता वस्ती बताउछन् । यसलाई खाद्य प्रविधि तथा गृण नियन्त्रण विभागले न्यूनगुणस्तरको संज्ञा दिएको छ ।

सो पानीम टोटल मेसोफिक काउन्ट बढी भेटिएको विभागका प्रवक्ता वस्तीले जानकारी दिए । वस्तीका अनुसार मेसोफिक काउन्ट बढी हुनु भनेको त्यसमा किटानु हुनु हो ।

यस्तै झौखेलस्थित नेचुरल स्प्रिङ्ग वाटरद्धारा प्रशोधित पानी दुषित भएको पाइएको छ । उक्त पानीमा कोलिफर्म भएको पाइएको हो । कोलिफर्मले झाडा पखला लगाउनेसम्मको असर पार्ने गर्छ ।

सुन्दरीजलमा रहेको स्तुपा इण्डष्ट्रिजद्धारा प्रशोधित पानी न्यूनगुणस्तर भएको पाइएको छ । उक्त पानीमा पनि पिएचको मात्रा कम भएको पाइएको हो ।

विभागले खनीजयुक्त पानीको गुणस्तर टर्विडिटी (एन.टि.यू) ५ एन.टी.यू मा नबढेको हुनुपर्ने, कुल घुलनशील ठोस पदार्थ ७ सय ५० मिलिग्राम प्रतिलिटरमा नबढेको, पिएच ६.५ देखि ८ सम्म भएको हुनुपर्ने मापदण्ड तोकेको छ ।

यस्तै तामा १ मिलिग्राम प्रतिलिटरमा नबढेको, फलाम ०.३ मिलिग्राम प्रतिलिटरमा नबढेको, नाइट्रेट ४५ मिलिग्राम प्रतिलिटरमा नबढेको, क्लोरीनको अवशेष ०.२ मिलिग्राम प्रतिलिटमा नबढेको, फ्लोराइड १.५ मिलिग्राम प्रतिलिटरमा नबढेको, र पारो ०.००१ मिलिग्राम प्रतिलिटरमा नबढेका हुनुपर्छ ।

अन्य मापदण्डमा क्याड्मियम ०.०१ मिलिग्राप प्रतिलिटरमा नबढेको, आर्सेनिक ०.०५ मिलिग्राम प्रतिलिटरमा नबढेको, सायनायड ०.०१ मिलिग्राम प्रतिलिटरमा नबढेको, सिशा ०.०५ मिलिग्राम प्रतिलिटरमा नबढेको र एमोनिया अनुपस्थित भएको हुनुपर्छ । यस्तै नाइट्राइट ०.००५ मिलिग्राम प्रतिलिटरमा नबढेको, क्रोमियम ०.०५ मिलिग्राम प्रतिलिटरमा नबढेको, क्लोराइड्स २ सय मिलिग्राम प्रतिलिटरमा नबढेको र सल्फेट २ सय ५० मिलिग्राम प्रतिलिटरमा नबढेको हुनुपर्छ ।

क्षारियता ६ सय मिलिग्राम प्रति लिटरमा नबढेको, म्यान्गानिज ०.१ मिलिग्राम प्रतिलिटरमा नबढेको, क्यालसियम १ सय मिलिग्राम प्रतिलिटरमा नबढेको, जिङ्क ५.० मिलिग्राम प्रतिलिटरमा नबढेको र कडापन २ सय मिलिग्राम प्रतिलिरमा नबढेको हुनुपर्ने मापदण्ड तोकिएको छ । विभागले मुद्दा दायर गरेका ब्राण्डका पानीमा तोकिएका यी मापदण्ड नपुगेको विभागको भनाइ छ ।


क्लिकमान्डु