डण्डीको मूल्य अझै बढाउने ब्यवसायीको तयारी, लागत नै बढेको दाबी




काठमाडौं । निर्माण सामाग्री छड तथा डण्डीको मूल्य अझै बढ्ने ब्यवसायीले बताएका छन् । आफूहरुको लागत नै बढी भएका कारण अहिले बढाएको मूल्यले नभ्याउने भन्दै उनीहरुले अझै मूल्य बढाउने बताएका हुन् ।

भारतीय बजारमा कच्चा फलामको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा छड तथा डण्डीको मूल्यमा वृद्धि भएको नेपाली उद्योगी व्यवसायीको दाबी छ । अहिले भारतमा कच्चा फलामको मूल्य प्रतिकेजी ३२ रुपैयाँ २० पैसा भारु छ ।

२०७० सालमा नेपाली बजारमा यस्ता डण्डी र छडको मूल्य १०० रुपैयाँ भन्दा माथि पुगेको थियो । पछिल्ला बर्षहरुमा कच्चापदार्थको मूल्य घटेसँगै नेपाली बजारमा छडको मूल्य ७० रुपैयाँको हाराहारीमा आएको थियो ।

पछिल्लो ६ महिनामा नेपाली बजारमा छड तथा डण्डीको मूल्य प्रतिकेजी १० रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । तर, व्यवसायीहरु फलामको मूल्य अझै बढ्ने बताउँछन् ।

‘अहिले छ महिना अगाडीको भन्दा प्रतिकेजी १५ रुपैयाँले उत्पादन लागत बढेको छ, उद्योगीले प्रतिकेजी १० रुपैयाँका दरले मात्रै मूल्य बढाएका छन्, यसकारण छडको मूल्य अझै बढ्न सक्छ,’ निर्माण सामाग्री उत्पादन गर्दै आएका नेपाल उद्योग बाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले क्लिकमाण्डूसँग भने ।

अन्य व्यवसायीहरु पनि अहिले मूल्य बढाउनु बाध्यता रहेको बताउँछन् । सन् २०१६ को अगस्टमा प्रतिकेजी १९ रुपैयाँ भारु रहेको कच्चा फलाम अहिले ३२ रुपैयाँ २० पैसा भारु पुगेको छ । ५ महिना अगाडी जुन २०१७ मा रहेको २४ रुपैयाँ ५० पैसा भन्दा करिब ८ रुपैयाँ भारुले बढी हो ।

पछिल्ला दिनमा भारतीय दुई ठूला फलाम खानीहरु बन्द भएसँगै भारतीय बजारमा कच्चा फलामको मूल्य बढेको व्यवसायीहरुको भनाइ छ । साथै, नेपाली उद्योगहरु पूर्णत भारतीय बजारबाट आउने कच्चा फलाममा निर्भर रहेकाले त्यहाँको मूल्य हेरफेरले नेपाली बजारमा पनि मूल्यमा फरक पार्ने गरेको छ ।


क्लिकमान्डु