नक्कली सेयर कारोबार गर्नेलाई मुद्दा तथा सेयर ब्रोकरलाई आर्थिक जरिवाना



काठमाडौं । धितोपत्र बोर्डले नक्कली सेयरको कारोबार गर्ने गोविन्द घिमिरे विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

बोर्डले फागुन २३ मा घिमिरे विरुद्ध मुद्दा दायर गरेको हो ।

चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली सेयर खरिदबिक्री भएको थियो । यसको बोर्डले अनुसन्धान गरेको थियो ।

सम्पत्ती शुद्धिकरणको निर्देशिका कार्यान्वयन नगरेको भन्दै बोर्डले अग्रवाल सेक्युरिटीलाई १० लाख रुपैयाँ आर्थिक जरिवाना लगाउने निर्णय गरेको छ ।

यस्तै नेशनल हाइड्रोपावर कम्पनी लि.को नक्कली सेयर कारोबार गरेको आरोपमा श्रीहरी सेक्युरिटीलाई १० लाख रुपैयाँ जरिवाना गरेको छ ।

ग्राहकको पूर्ण विवरण सहितको अभिलेख नराखेको आरोपमा धितोपत्र दलाल कम्पनी श्रीहरि सेक्युरिटिज प्रालि र अग्रवाल सेक्यूरिटिज प्रा.लि. लाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येक कम्पनीलाई ५० हजार जरिवाना गरिएको बोर्डले जनाएको छ ।

यस्तै धितोपत्र सम्बन्धी सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ भन्ने व्यवस्था रहेकोले श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्यूरिटिजका सम्बन्धित कार्यकारी प्रमुखलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम प्रत्येकलाई ५० हजार जरिवाना तोकेको छ ।

सिप्रवी सेक्यूरिटिज प्रालि तथा सोका सम्बन्धित कार्यकारी प्रमुखले पूर्ण विवरण सहितको अभिलेख राख्नुपर्नेछ भन्ने व्यवस्था बमोजिम ग्राहकको पूर्ण विवरण सहितको अभिलेख राख्न ध्यान नपुर्याएकोले संस्थालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम रु. पचास हजार जरिवाना गर्नुका साथै धितोपत्र सम्बन्धि ऐनको उपदफा (४) बमोजिमको अवस्थाको पालनामा प्रयाप्त ध्यान नदिएकोले संस्थाका सम्बन्धित कार्यकारी प्रमुखलाई नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम २८ को खण्ड (क) बमोजिम सचेत गराएको जनाएको छ ।


क्लिकमान्डु