भान्साको फोहोर लगेर कौसीमा तरकारी फलाउने शीप सिकाउदै महानगर




काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि कौसी खेती गर्न सिकाउने भएको छ । नगरबासीलाई कौसी खेतीको तालिम दिएर महानगरले फोहोर व्यवस्थापन गर्न लागेको हो ।

पछिल्लो समय काठमाडौंमा फोहोरमहिलाको समस्या जटिल बन्दै गएको छ ।

घरबाट निस्किने फोहरलाई घरमै व्यवस्थापन गर्नका लागि महानगरले कौसी खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत तालिम दिन लागिएको महानगरका वातावरण विभाग प्रमुख हरि कुवँरले जानकारी दिए ।

‘कौसी खेतीको तालिम लिन इच्छुक वडाबासीको विवरण संकलन गरेर बुझाउन ३२ वटै वडालाई परिपत्र गरिसकेको छ, वडाले उपलब्ध गराएको विवरणका आधारमा कौसी खेती तालिम दिइन्छ,’ कुवँरले क्लिकमाण्डूसँग भने ।

महानगरले सहभागीलाई फोहोर कम गर्ने, पुनप्रयोग गर्ने र पुनप्रशोधन गर्ने तालिम दिने छ । घरबाट निस्किने फोहोर ८० प्रतिशतसम्म कम गर्न तालिमले सहयोगी भुमिका खेल्ने कुवँरको दाबी छ ।

कौसी खेती प्रवद्र्धन कार्याक्रम भएकाले सहभागीलाई आवश्यक आधारभूत शिक्षा दिएर कौसी खेती गर्नका लागि प्रेरित गर्नु नै तालिमको मुख्य उद्देश्य भएको कुवँरले बताए ।

‘घरबाट निस्किने फोहोरलाई जैविक मल बनाउ सकिन्छ, जैविक मलको प्रयोगबाट घरमा स्वच्छ र स्वस्थ तरकारी उत्पाद हुनेछ,’ कुवँरले भने ।

तालिममा सहभागीलाई फोहोरबाट पैसा कमाउने विधि पनि सिकाइनेछ । प्लास्टिक, फलामलगायत घातुहरु मानिसले फोहोरसँग फाल्ने गरेका छन् । यी वस्तुलाई जम्मा गरेर बेच्न सकिने कुराको जानकारी पनि तालिममा दिइने कुवँर बताउँछन् ।

कसरी तालिम लिने ?
महानगरले कौसी खेती तालिम लिन इच्छुक व्यक्तिको सूची तयार पार्न ३२ वटै वडालाई चिठी पठाईसकेको छ । तालिमका लागि इच्छुकहरुले सम्बन्धित वडामा गएर नाम दार्ता गराउनु पर्ने हुन्छ । वडा कार्यालयले बुझाएको विवरणको आधारमा विभागले तालिमको व्यवस्था गर्नेछ । विभागले २५ देखि ३५ जनाको समूह तयार बनाई तालिम दिनेछ ।

कहाँ दिइन्छ तालिम ?
महानगरले तालिमको व्यवस्था सम्बन्धित वडाबाटै गर्ने तयारी गरेको छ । तालिमका लागि उपयुक्त हल नभएको वडाको हकमा भने वातावरण विभागको हलबाट तालिम दिइने प्रमुख कुवँर बताउँछन् । सो, कौसी खेती तालिम ३ दिनसम्म संचालन हुनेछ ।


क्लिकमान्डु