लगानीकर्ता हार-गुहार गर्दै, पूँजी बजार लयमा फर्कदै



काठमाडौं । लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ ।

विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार आज अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ ।

कारोबार रकममा पनि आज केही वृद्धि भएको छ । सोमबार कूल १६३ कम्पनीको ११ लाख ४१ हजार ४६३ कित्ता शेयर रु ४९ करोड ८४ लाख ७२ हजार ३९८ मूल्यमा कारोबार भएको थियो ।

आज भने कूल १६६ कम्पनीको १२ लाख ६२ हजार ४१७ कित्ता शेयर रु ६३ करोड ३२ लाख २२ हजार ४१२ मूल्यमा कारोबार भएको छ । शेयर बजारको विश्लेषण आएका जानकार नीरव पुडासैनीका अनुसार हिजो र आजको कारोबारको अवस्थालाई मात्रै हेरेर बजार सकारात्मक दिशामा अगाडि बढ्यो भन्ने विश्लेषण गर्नु हतार हुने टिप्पणी गर्छन् ।

उनले भने, “सम्पूर्णरुपमा नकारात्मक प्रवृत्ति हावी भएको बजारले सकारात्मक लय पकड्न सक्छ भन्ने संकेत चाही गरेको हो । तर दुई दिनको मात्रै हिसाब गरेर राम्रो भयो भनिहाल्ने अवस्था भने रहेको छैन ।”

आज नेप्से परिसूचक २ दशमलव ४४ बिन्दुले बढेर एक हजार ४३७ बिन्दुमा पुगेको छ । बजार संग्लिन थालेपछि मुनाफा सुरक्षित गर्न खोज्ने प्रवृत्ति पनि हावी भएको विश्लेषकहरुको टिप्पणी छ ।

लगानीकर्ता संघले बजारमा देखिएको अन्यौलता समाधानका लागि नियमित छलफल शुरु गरेको छ । सोमबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेटवार्ता गरेको संघले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालसँग समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको छ ।

भेटमा सहभागी संघका सदस्य केशव भण्डारीले केन्द्रीय बैंकका गभर्नरले समस्या समाधानका लागि आफूहरुले पहल गरिरहेको जानकारी दिए ।

गभर्नर नेपालले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा केही सुधार गर्नुपर्ने विषय भए त्यसलाई सम्बोधन गर्नेसमेत संघका प्रतिनिधिलाई विश्वास दिलाएका छन् ।

तरलता समाधानका लागि आज मात्रै नेपाल उद्योग परिसंघले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको थियो । परिसंघका अध्यक्ष हरिभक्त शर्माले तरलताका कारण उद्योग व्यवसाय, पूँजी बजारमा समेत समस्या परेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए ।

त्यसो त पूँजी बजारमा समस्या बढ्दै गएपछि नेपाल धितोपत्र बोर्डले केही सकारात्मक पहलसमेत शुरु गरेको छ । बोर्डले बजार संग्लिने भन्दै नआत्तिन र सबै खत्तम भयो भने जसरी प्रस्तुत नहुन लगानीकर्तालाई आग्रह गरेको छ ।

यस्तै शेयर कर्जालाई सहज बनाउन पनि लगानीकर्ता संघले बैंकर्स संघलाई आग्रह गरिसकेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सहज बहुमत प्राप्त गरेपछि बजारमा नकारात्मक हल्ला चलेको भन्दै विश्लेषकले अतिरञ्जीत हल्ला नगर्न र बजारलाई सहजरुपमा चल्न दिनसमेत आग्रह गरेका छन् । रासस


क्लिकमान्डु