वित्तीय विवरण पेश गर्न सूचीकृत कम्पनीलाई नेप्सेको निर्देशन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई लेखा परीक्षण भएको वित्तीय विवरण र शेयरधनीको सूची तत्काल बुझाउन निर्देशन दिएको छ ।

स्टकले आज सूचनामार्फत उक्त विवरण तत्काल बुझाउन निर्देशन दिएको हो । सूचीकृत सबै कम्पनीको संस्थापक र पब्लिक शेयरधनीको सूचीका साथै आव २०७३÷७४ को लेखा परीक्षण सम्पन्न भएको वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सूचीकृत कम्पनीले लेखा परीक्षण नगरेको भए पनि अघिल्ला ३ वर्षको वित्तीय विवरण बुझाउन निर्देशन दिएको जानकारी दिए । नेप्सेले सूचीकृत कम्पनीको वर्गीकरणका लागि उक्त विवरण माग गरेको जनाएको छ । उक्त विवरण आगामी माघ १० गतेभित्र उपलब्ध गराउन निर्देशन दिइएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०५३ अनुसार चुक्ता पुँजी (साधारण शेयर) कम्तीमा २ करोड रुपैयाँ भएको, साधारण शेयरवालाको सङ्ख्या कम्तीमा १ हजार जना भएको, सार्वजनिक रुपमा शेयर बिक्री गरेको भए त्यसको विवरणसमेत उल्लेख गर्न कम्पनीलाई आग्रह गरेको छ ।

कम्तीमा ३ वर्षदेखि लगातार मुनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्यभन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा उक्त आर्थिक वर्षको कारोबार तथा आयव्यय विवरण स्टक एक्सचेन्जमा पेश गरिसकेको कम्पनीलाई (क) वर्गमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । रासस


क्लिकमान्डु