१२ लाखको लगानीबाट बार्षिक १५ लाख कमाई



बागलुङ । बागलुङ नगरपालिका–३ का नारायण शर्माले कृषि उद्यमबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

१५ वर्षअघि व्यावसायिक कृषिको सुरुवात गरेका ४९ वर्षीय शर्माले माछा, कुखुरा, हाँस, बाख्रापालनसँगै केराखेती पनि गरिरहेका छन् । १२ लाख रुपैयाँको लगानीबाट सुरु गरेको कृषि फार्मबाट उनले अहिले वार्षिक १५ लाख रुपैयाँसम्म आम्दानी गर्छन । ६ वटा पोखरीमा माछापालन गरेका उनले वार्षिक ८ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।

शर्माले आफ्नै ४ रोपनी जग्गामा माछापालन गरेका छन् । पोखरीमा ग्रास, कमनलगायत विभिन्न जातका ७ हजार माछा छन् । पोखरीको आलो माछा प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री हुने गरेको शर्माले बताए ।

उनले फार्ममा ३ हजार ब्रोइलर र २ हजार कोइलर जातका कुखुरा पालेका छन् । कुखुरासँगै हाँसपालन गरेका शर्माले जिल्ला कृषि र पशुसेवा कार्यालयबाट अनुदानसमेत पाएका छन् ।

माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट ६० हजार रुपैयाँ र कुखुरापालनका लागि जिल्ला पशुसेवा कार्यालयबाट ५० हजार रुपैयाँ अनुदान पाएको शर्माले बताए ।
शर्माले गरेको उद्यमशीलता अन्य किसानका लागि प्रेरणादायी बनेको छ ।

विसं २०४७ मा शिक्षण पेशा त्यागेर कृषि रोजेका शर्मा यसमै सफल भएका छन् । फार्ममा केहीलाई रोजगारीसमेत दिएको उनी कृषिलाई अझै व्यावसायिक बनाउने सोचमा छन्ु ।

‘उत्पादन गर्न सके बजारको कुनै समस्या छैन, कृषि कर्मबाट म पूर्ण सन्तुष्ट छु’, शर्माले भने । काठेखोला छेउँमा रहेको सो फार्मबाट उत्पादित कृषि उपज बागलुङ सदरमुकाममै खपत हुने गरेको छ । अन्त गएर गर्ने परिश्रम कृषिमा लगाउन सके मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ । रासस


क्लिकमान्डु