अनुदानितभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल



काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारबाट अनुदानित रासायनिक मलभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल कृषकका खेतबारीमा पुर्याएको छ ।

कर्पोरेशनले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट नामक  बहुतत्वयुक्त रासायनिक मल आफ्ना २८ बिक्री केन्द्रमार्फत बिक्री वितरणमा ल्याएको छ । ती मलले तेलहन, तरकारी तथा अन्य बालीका बिरुवाका लागि अति आवश्यक तथा सुक्ष्म तत्वको आपूर्ति बढाउन सहजता प्रदान गर्दछ ।

सरकारले कृषि सामग्री कम्पनीलाई ७० प्रतिशत र सो कर्पोरेशनलाई बाँकी ३० प्रतिशत अनुदान दिई युरिया, डाइएमोनियम फस्फेट र म्यारेट अफ पोटास मल आयात गरी बिक्री वितरण गर्न अनुमति दिएको छ ।

कर्पोरेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम कृषकको माग तथा बालीको उत्पादकत्व वृद्धि गर्न गैर अनुदानमा कर्पाेरेशनले मल आयात गरेको जानकारी दिर्इन् ।

नेपालमा वर्षेनी पाँचलाख मेट्रिक टन विभिन्न किसिमका रासायनिक मल आवश्यकता पर्दछ । तीमध्ये सरकारले पछिल्लो वर्ष तीनलाख मेट्रिक टनमा अनुदान दिने गर्दछ । कर्पोरेशनले विसं २०६९ देखि अनुदानका मल बिक्री वितरण गर्दै आएको थियो ।

उनले माटोको अम्लियपनलाई सिङ्गल सुपर फस्फेटमा भएको क्याल्सियम तत्वले ठीक पार्ने, एमोनियम सल्फेटले बिरुवाका लागि आवश्यक तत्व प्रदान गर्ने चर्चा गर्दै छोटो समयमा आम कृषकले मललाई रुचाएको बतार्इन् ।

कर्पोरेशनले ती दुई मल आयात गरी बिक्री वितरण गरेको तीन महिना मात्र भएको छ । यस अवधिमा करिब ३० हजार मेट्रिक टन खपत भइसकेको जनाएको छ ।

अर्कोतर्फ अनुदानित युरिया मलबाट ४६, डाइएमोनियम फस्फेटबाट १८ र म्यारेट अफ पोटासबाट ४६ प्रतिशत तत्व माटोको पौष्टिक सन्तुलन मिलाउन प्राप्त हुने गर्दछ । यसका अतिरिक्त अन्य १३ वटा तत्व पनि बिरुवाका लागि आवश्यक पर्छ । यी आवश्यक तत्व कर्पोरेशनले बिक्री वितरण गरेका मलबाट प्राप्त हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पत्रकार सम्मेलनमा बतार्इन्।

उनले रासायनिक मलको समुचित प्रयोगका बारेमा आम कृषकलाई उनीहरुकै घर आँगनमा पुगी जानकारी दिने सचेतना कार्यक्रम जारी रहेको बतार्इन् ।

कर्पोरेशनका व्यापार निर्देशक पंकज जोशीले सरकारले अनुदान दिएको मलभन्दा कर्पोरेशनले आयात गरी बिक्री वितरण गरेको मल सस्तो रहेको जानकारी दिए ।

उनले एमोनियम सल्फेट प्रतिकेजी १८ रुपैयाँ र सिङ्गल सुपर फस्फेट २६ रुपैयाँ ५० पैसामा बिक्री वितरण भएको बतार्इन् ।

कर्पोरेशनका कृषिविज्ञ भगवानप्रसाद खतिवडाले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल विश्वबजारमा निस्केका पुरानो र विश्वसनीय मल रहेको चर्चा गरे।

उनले एमोनियम सल्फेटमा २१ प्रतिशत नाइट्रेजन तथा २४ प्रतिशत सल्फर हुने र सिङ्गल सुपर फस्फेटमा १६ प्रतिशत फस्फोरस, १२ प्रतिशत सल्फर र २१ प्रतिशत क्याल्सियम हुने जानकारी दिए।


क्लिकमान्डु