किन घट्यो विदेश काम गर्न जाने नेपालीको संख्या ?



काठमाडौं । बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दै जादा यसको असर रेमिटेन्सको बृद्धिदरमा परेको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिटेन्सको बृद्धिदर १.४ प्रतिशतले कमी आएको छ ।

कात्तिक महिनासम्ममा विदेशमा बस्ने नेपालीले २ खर्ब २८ अर्ब रुपैयाँ रेमिटेन्स वापत पठाएका छन् ।

कात्तिक महिनासम्ममा अघिल्लो वर्षको तुलनामा विदेश जानेको संख्या १ प्रतिशतले घटेको छ । पछिल्ला तीन वर्षदेखि बैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दो क्रममा रहेको छ ।

बैदेशिक रोजगारीमा जानेको संख्या घटेको हुँदा विदेशबाट आउने रेमिटेन्स रकम पनि बढ्न सकेको छैन । देशबाट भित्रने भन्दा बाहिरिने रकम कम भएपछि शोधनान्तरमा असर गरेको छ ।

अघिल्लो वर्ष कात्तिक महिनासम्ममा २१ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर बचत यो वर्ष २ अर्ब ४० करोड रुपैयाँले मात्र बचतमा छ ।

अघिल्लो वर्षसम्म १ अर्बले बचतमा रहेको चालु खाता यो वर्ष २५ अर्बले घाटामा गएको छ ।

देशमा विदेशी मुद्रा भित्राउने प्रमुख स्रोतमा रेमिटेन्स हो । त्यसपछि निर्यात,बैदेशिक अनुदान,ऋण तथा बैदेशिक लगानी विदेशी मुद्रा भित्रने स्रोतमा पर्छन् ।

देशबाट पैसा आयात,बैदेशिक ऋणको किस्ता तथा ब्याज,विदेशी लगानीमा स्थापना भएका कम्पनीले लग्ने लाभांश लगायतको कारणबाट बाहिरिने गर्छ ।

सर्बोच्च अदालतले टेलिकम सेवा प्रदायक कम्पनी एनसेललाई आफ्नो लाभांश वापतको रकम विदेश लैजान फैसला गरेको छ ।

बैदेशिक रोजगारीमा जानेको संख्या घटेको हुँदा विदेशबाट आउने रेमिटेन्स रकम पनि बढ्न सकेको छैन । देशबाट भित्रने भन्दा बाहिरिने रकम कम भएपछि शोधनान्तरमा असर गरेको छ ।

जसको चाप बैंकलाई तरलताको रुपमा देशलाई शोधनान्तरको रुपमा पर्ने देखिन्छ ।

चालु अर्थिक वर्षको कात्तिक महिनासम्ममा १ लाख ४ हजार नेपाली कामको लागि बाहिरिएका छन् ।

बैदेशिक रोजगार विभागका अनुसार श्रम स्विकृति लिएर जाने नेपालीको संख्या अघिल्लो वर्ष कात्तिक महिनामा १ लाख २५ हजार थियो ।

बैदेशिक रोजगार विभागका अनुसार यो वर्ष सबैभन्दा बढी नेपाली कामको लागि मलेसिया गएका छन् । कात्तिक महिनासम्ममा ४० हजार नेपाली मलेसिया गएका छन् । अघिल्लो वर्ष मलेसिया जाने नेपालीको संख्या २४ हजार थियो ।

अघिल्लो वर्षसम्म अत्याधिक जाने देशको सूचिमा रहेको साउदी अरब जानेको संख्या भने यो वर्ष घटेको छ । अघिल्लो वर्ष कात्तिक महिनासम्ममा ३१ हजार नेपाली साउदी अरब गएकोमा यो वर्ष कात्तिक महिनासम्ममा १५ हजारमा झरेको छ ।

यस्तै छिमेकी देशको नाकाबन्दीको चपेटामा परेको कतारमा पनि रोजगारीको लागि जानेको संख्या घटेको छ । अघिल्लो वर्ष कात्तिक महिनामासम्म ३९ हजार नेपाली कामको लागि कतार पुगेका थिए । यो वर्ष ३० हजार मात्र कतार पुगेका छन् ।
बैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बिमल ढकाल खाडीमा देखिएको समस्याको कारण विदेश जानेको संख्याको घटेको बताउँछन् ।

‘ अहिले मलेसियामा कामदारको मागपनि बढेको छ,जानेको संख्यापनि बढेको छ’,ढकालले क्लिकमाण्डूसँग भने,‘ विदेश काम गर्न जान चाहनेको संख्या बढी भएपनि भने अनुसारको काम नपाएको हुँदा जानेको संख्या घटेको हो।’

खासगरी भूकम्पपछि बैदेशिक रोजगारीको जानेको संख्या घटेको थियो । विदेश काम गर्न जानेको संख्या घट्नुपनि कतिपयले तत्कालिन श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले लागु गरेको फ्रि भिसा फ्रि टिकटको नीतिलाई प्रमुख मानेका छन् ।

भूकम्पपछि पुननिर्माणको लागि देशमा काम पाउने अवसर भने सिर्जना भएको छ । अर्थविद् रामेश्वर खनाल देश विकासको लागि बैदेशिक रोजगारीमा जानेको संख्या घट्न पर्ने बताउँछन् ।

‘विदेशमा काम गर्न जानेको संख्या घट्यो भनेर आत्तिनुपर्ने पर्ने अवस्था होइन’,उनले भने,‘व्यक्तिले कि नेपालमा काम पाएको छ केही गरेर बसेको छ । काम नपाएको भए रोजगारीको लागि विदेश जानु बाध्यता नै हो।’


क्लिकमान्डु