नेप्से घट्ने क्रम रोकिएन, ७५ करोडको कारोबार




काठमाडौं । साताको चौथो दिन बुधबार पनि पुँजी बजार मापक नेप्से घटेको छ । सो दिन करिब २२ अंकले परिसुचक घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार सो दिन परिसुचक २१. ५३ अंकले घटेर १४२५.५१ बिन्दुमा आइपुगेको छ । बुधबार १५६ कम्पनीका १३ लाख ५६ हजार कित्ता सेयर ७५ करोड ८९ लाख रुपैयाँमा खरिद विक्री भएका छन् ।

घट्दो बजारमा उत्पादनशील समुहको परिसुचक भने सामान्य अंकले बढेको छ । सो समुहको परिसुचक ६.५२ अंकले बढेको हो । अन्य समुहको परिसुचक घटेका छन् ।

बैंकिङ समुहको सुचक १७.८६, होटल समुहको ५.६, विकास बैंक समुहको सुचक २४.६९, जलविद्युतको २४.२९, वित्त कम्पनीको ४.३६, बीमा समुहको १३६.९१, अन्य समुहको २०.५३ र लघुवित्त समुहको सुचक २३.७२ अंकले घटेका नेप्सेले जानकारी दिएको छ ।

घटेको बजारमा पनि माहुली सामुदायिक लघुवित्तका सेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । यस्तै ललितपूर फाइनान्स र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले पनि करिब ५ प्रतिशतको हाराहारीमा कमाएका छन् ।

सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ५.६३ प्रतिशतले गुमाएका छन् । यस्तै कर्णाली विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, सानिमामाइ जलविद्युत कम्पनी, सिभिल लघुवित्त संस्था र प्रभु बैंकका लगानीकर्ताले ४ प्रतिशतको हाराहारीमा गुमाएका छन् ।

सो दिन नेपाल लाइफ, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल टेलिकम, प्रभु बैंक लगायतका सुचिकृत संस्थाका धेरै कित्ता सेयर कारोबार भएको छ ।


क्लिकमान्डु