हाइड्रोपावर सम्बन्धि जानकारी दिन हाइड्रो एक्स्पो हुँदै



काठमाडौं । काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको हाइड्रोपावर मेला हुने भएको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा यहि पुस २१ गतेदेखि २३ गतेसम्म भृकृटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो-२०१८ एक्स्पो हुन लागेको हो ।

इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले सो एक्स्पोबाट जलविद्युत सम्बन्धि जानकारीहरु प्रदान गर्ने तथा सम्बन्धित विषयका विज्ञहरुबीच छलफल गराउन गर्न लागिएको जानकारी दिए ।

मेलामा दर्जन बढी देशका हाइड्रो पावर कम्पनीहरुको सहभागिता रहने बताईएको छ । सो एक्स्पोमा करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

एक्स्पोमार्फत ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यको लागि विशेष सहयोग पुग्ने इपानका उपाध्यक्ष कुमार पाण्डेले बताए ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मन, अस्ट्रिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागीता हुनेछन् ।

विशेषगरी इटलीको सिएमसि, जर्मनको भोइथ, भारतको क्रिस्टल, फ्लोभल, बुलगेरियाको भेप्थ, चेक रिपब्लिकाको मेभल भारतको बिएफएल, चीनको पावर चाइना र सिएसइसि जस्ता बहुराष्ट्रिय कम्पनीहरुले पनि सहभागिता हुने जानकारी दिईयो ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलटेन्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय कम्पनीहरुलगायत झन्डै १ सयभन्दा बढी स्टल रहने छन् ।

जसमध्ये करिब ५० प्रतिशत स्टलमा विदेशी कम्पनीहरुको सहभागिता रहने छ ।

एक्स्पोकै क्रममा विभिन्न इन्जिनियरिङ क्याम्पसहरुका विद्यार्थीहरुबीच व्यक्तिगत तवरबाट आविश्कार गरेको हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणा बारे प्रतिस्पर्धासमेत हुने जानकारी दिईयो ।

सो प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ, द्धितीय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ र तृतीय हुनेलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राखिएको हो ।

एक्स्पोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।


क्लिकमान्डु