अपेक्षाअनुसार वैदेशिक सहायताको सोधभर्ना प्राप्त भएन



काठमाडौँ । वैदेशिक आर्थिक सहायता प्रभावकारीरुपमा परिचालन नहुँदा अपेक्षाअनुसारको सोधभर्ना प्राप्त गर्न सकिएको छैन ।

वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको हो । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव वैकुण्ठ अर्यालका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा १८ अर्ब रुपैयाँ सोधभर्ना भएको छ ।

सरकारले चालू आवको बजेटमा ७२ अर्ब १६ करोड ७६ लाख २८ हजार रुपैयाँ वैदेशिक अनुदान र दुई खर्ब १४ अर्ब तीन करोड ५४ लाख २९ हजार रुपैयाँ वैदेशिक ऋण जुटाउने उल्लेख गरेको थियो । वैदेशिक सहायतामा निर्भर सिँचाइ, जलविद्युत्, सडकपूर्वाधार आयोजनाले गति लिन नसक्दा अपेक्षित शोधभर्ना लिन नसकिएको सहसचिव अर्याल बताउँछन् ।

मंसिरसम्ममा ९९ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको छ भने त्यसमध्ये ९४ अर्ब १८ करोड २० लाख रुपैयाँ सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले अन्तर्राष्ट्रिय आर्थिक सहायता राष्ट्रिय आवश्यकता र प्राथमिकतामा परिचालन गर्ने बताएको थियो । संघीयता अनुकूल हुने गरी विकास सहायता पहिचान गर्ने विधि तय गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख गरेको थियो ।


क्लिकमान्डु