पोखरामा १९औँ सडक महोत्सव पुस १३ देखि शुरु हुने



काठमाडौं। रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले यही पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा १९औँ सडक महोत्सव आयोजना गर्ने भएको छ ।

पोखरालार्इ नेपालसहित विश्व बजारमा थप परिचित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उद्धेश्यले रेवान पोखराले पोखरा सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको छ ।

सो महोत्सवको बारेमा रेवानले आईतवार पत्रकार सम्मेलन गरेर अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा आयोजना गरिने महोत्सवमा सहभागी हुनका लागि सबैलाई आग्रह गरेको छ ।

रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङ्गले पोखराको शहिद चोकदेखि खहरे डिहिकोपाटन सम्म करिब ३ किलोमिटर क्षेत्रमा आयोजना हुने महोत्सवमा सडकमा नै रमाउने व्यवस्था गरिने जानकारी दिए ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सवमा होटल तथा रेष्टुरेन्टले सडकमै पसल राखी स्वदेशी तथा विदेशी पाहुनालाई सेवा उपलब्ध गराउने जानकारी दिईयो।

महोत्सव अवधिभर नेपालका सातै प्रदेशका लोपोन्मुख सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन गरिने तथा कृषिजन्य स्थानीय उत्पादनहरुको प्रदर्शनी गरिने जानकारी दिईयो ।

बढी संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई पर्यटन क्षेत्रको विकास गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गर्न लागिएको सो महोत्सवमा नेपालका विभिन्न जनजातिसँग सम्बन्धित लोपोन्मुख वेशभूषा, कला, संस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीको संरक्षण र जगेर्ना गर्दै तिनीहरुको संवद्र्धन र प्रवद्र्धन गर्ने पनि लक्ष्य राखिएको छ ।

महोत्सवमा करिब ५ लाख पर्यटकहरु सहभागी हुने अनुमान रेवान पोखराले गरेको छ ।


क्लिकमान्डु