फ्रास्ट ट्रयाक तीब्र गतिमा बनाउँदै सेना, निर्माण उपकरण भाडामा लिदै




काठमाडौं । राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको काठमाडौँ–तराई मधेश द्रुर्तमार्ग निर्माण गरिरहेको नेपाली सेनाले निर्माण उपकरण भाडामा लिएर काम सुरु गर्ने भएको छ ।

दीर्घकालीन रुपमा २ अर्ब बराबरको निर्माण सामग्री खरिदका लागि प्रक्रिया अगाडि बढाएको सेनाले तत्कालका लागि निर्माण व्यावसायीबाट उपकरण भाडामा लिन लागेको हो ।

आज एक सूचना प्रकाशित गरी सेनाले हेभी उपकरण भाडामा लिन लागेको जानकारी दिएको छ ।

सेनाले मकवानपुरको बुदुने र बाराको निजगढमा निर्माण व्यवसायीले उपकरण भाडामा दिने सम्बन्धी बोलपत्र फारम बुझाउन सक्ने स्थान समेत तोकेको छ ।

पहिलो चरणमा दुई प्याकेजका लागि राष्ट्रियस्तरका निर्माण व्यवासायीलाई बोलपत्रमा सहभागी हुन भनेको हो ।

सेनाले नेपाल बैंकको धर्मपथ शाखामा तोकिएको राजस्व तिरेर बोलपत्रमा भाग लिन समेत निर्माण व्यवासायीलाई सूचना मार्फत आग्रह गरेको छ ।

तर सूचनामा के कति उपकरण भाडामा लिन लागिएको हो सो बारेमा कुनै जानकारी दिइएको छ ।

प्रतिघण्टा के कति मूल्यमा मिर्नाण उपकरण भाडामा दिने हो सोको जानकारी दिन सूचनामा आग्रह गरिएको छ ।

उक्त बोलपत्रमा आगामी १५ दिनभित्र भाग लिन सक्ने सूचनामा उल्लेख छ । कुल ७६ किलोमिटर लामो द्रुतमार्ग निर्माणको जिम्मा सेनाले लिएको छ ।

१ खर्ब १२ अर्ब लागतमा निर्माण हुने भनिएको सो आयोजना काठमाडौंलाई तराई जोड्न महत्वपूर्ण मानिएको छ । सेनाले भारतीय कम्पनीले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन नपाएपनि आयोजना अगाडि बढ्ने जनाएको छ ।

भारतीय कम्पनी इन्फ्रास्टक्चर लिजिङ एन्ड फाइनान्सिङ सर्भिसेज (आइएलएन्डएफएस) ले तयार पारेको डीपीआर खरिल गर्न सो कम्पनीले १ अर्ब रुपैयाँ शुल्क मागेको छ । डीपीआरको शुल्क महंगो भएपछि सेनाले सो डीपीआर बिनै आफ्नै खाका अनुसार द्रुतमार्ग बनाउने भनिसकेको छ ।


क्लिकमान्डु