पाँच महिनामा थपियो ४० मेगावाट बिजुली, भार व्यवस्थापनमा सहयोग



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका जलविद्युत् आयोजना समस्यामा फसिरहेका बेला निजी क्षेत्रका परियोजना एकपछि अर्को गर्दै निर्माण सम्पन्न भइरहेका छन् ।

प्राधिकरणका अनुसार गत साउनदेखि हालसम्म करिब ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गत साउनयता हालसम्म साना तथा मझौला गरी कूल सात जलविद्युत् आयोजना सम्पन्न भएको छ ।

साना तथा मझौला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेका छन् । सरकारी स्वामित्वको प्राधिकरणका आयोजनामा समय र लागत बढ्दै गइरहेका बेला निजी क्षेत्रको सार्थक प्रयासले केन्द्रिय प्रसारण लाइनमा विद्युत् प्रवाहका लागि थप सहजता भएको छ ।

साउनयता निर्माण सम्पन्न सात आयोजनाको विद्युत् प्रणालीमा थप भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएका आयोजनामा १३.६ मेगावाट क्षमताको थापाखोला, ५.१ मेगावाटको माथिल्लो माई ‘सि’, चार मेगावाटको सवाखोला, चार मेगावाटको पुवाखोला, चार मेगावाटको सार्दी खोला, ४.९ मेगावाटको फावाखोला र तीन मेगावाटको गर्जाङ खोला आयोजनाले व्यापारिक उत्पादन शुरु गरिसकेको र प्रणालीमा जोडिइसकेको छ ।

प्रवक्ता अधिकारीका अनुसार प्राधिकरणको प्रसारण लाइनमा निजी क्षेत्रले उत्पादन गरेका करिब ४० मेगावाट बराबरको विद्युत् जोडिँदा भार व्यवस्थापनमा सहयोग पुगेको छ । निजी क्षेत्रको विद्युत् थपिँदा माग र आपूर्ति व्यवस्थापनमा सहज भएको र कतिपय स्थानमा रहेको भार व्यवस्थापनको समस्यामा कमी आएको छ।

प्रवक्ता अधिकारीका अनुसार १३ मेगावाटको सिक्लेस, तीन मेगावाटको मिदिम, सात मेगावाटको मोलुङ र ३.२ मेगावाटको गेलुङ आयोजना विद्युत् उत्पादन गर्ने अन्तिम चरणमा पुगेका छन् । यी आयोजनाबाट उत्पादन शुरु भएपछि प्रणालीमा थप ६६ मेगावाट विद्युत् उपलब्ध हुनेछ ।

आगामी चैतसम्ममा निजी क्षेत्रले थप १५१ मेगावाट विद्युत् उत्पादन गर्नेछ । चैतभित्रमा २५ मेगावाटको काबेली बिएक, २२ मेगावाटको माथिल्लो चाकु, २० मेगावाटको तल्लो मोदीसहित ९४ मेगावाटलगायतका नौ आयोजनाले उत्पादन शुरु गर्ने जानकारी प्राधिकरणलाई गराएका छन् ।

आगामी साउनसम्ममा निजी क्षेत्रको थप ५० मेगावाट विद्युत् प्रणालीमा जोडिने प्राधिकरणको दाबी छ । चालू आवमा निजी क्षेत्रको हिस्सा २०० मेगावाटको हाराहारीमा पुग्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंको भनाइ छ ।

‘निजी क्षेत्रले निर्माण गरिरहेका आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । हामी आगामी दुई वर्षभित्र थप ५०० मेगावाट विद्युत् उत्पादन गरिसक्छौँ, तीन वर्षभित्र त्यो हिस्सा बढेर करिब एक हजार मेगावाटको हाराहारीमा पुग्नेछ,’ उनले भने ।

निजी क्षेत्रले तीव्ररुपमा विद्युत् उत्पादन गरिरहेका बेला प्राधिकरणको चमेलिया आयोजना व्यापारिक उत्पादन शुरु गर्ने तयारीमा छ । हाल परीक्षण उत्पादन भइरहेको दार्चुलामा आयोजनास्थल रहेको चमेलिया ३० मेगावाट क्षमताको छ । सो आयोजनाले व्यापारिक उत्पादन शुरु गरेपछि प्रदेश नं ७, ६ र ५ मा विद्युत् प्रवाहमा सहजता आउने प्राधिकरणले जनाएको छ ।

प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादनमा समान हिस्सा भइसकेको छ । तथ्यांकअनुसार विद्युत् उत्पादनमा निजी क्षेत्रले प्राधिकरणलाई उछिनिसकेको अवस्थामा थप विद्युत् जोडिएपछि प्रणालीमा प्राधिकरण ४० प्रतिशत र निजी क्षेत्र ६० प्रतिशतको हाराहारीमा पुग्ने अध्यक्ष गुरागार्इंको भनाइ छ ।


क्लिकमान्डु