टेलिकम रेगुलेटरहरुको बैठक शुरु, प्रविधि पुर्वाधार विकासको बारेमा छलफल



काठमाडौं । दक्षिण एशियाली क्षेत्रमा दूरसञ्चारसेवा प्रदायक निकायहरुको नियमन गर्ने संस्थाहरुको काउन्सिल (साउथ एशियन टेलिकम्युनिकेशन रेगुलेटर्स काउन्सिल)को १८ औं बैठक काठमाडौंमा शुरु भएको छ ।

सो बैठकको उद्घाटन गर्दै सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले नेपालले विभिन्न तहका चुनावहरु सकेर मुलुक आर्थिक समृद्धिको बाटोमा लागेको बताए । उनले नेपालमा मोबाइल सेवा प्रयोगकर्ता र ईन्टरनेट सेवा प्रयोगकर्ताहरुको संख्या बढिरहेको भएपनि यसले प्रविधिको पहुँच र उपयोगिताको भिन्नता बढाएको बताए ।

‘नेपालमा शहरी क्षेत्र र गाउँबीच प्रविधिको उपयोग र पहुँचमा भिन्नता बढ्दै गएकोछ, त्यसैले सरकारले गाउँ गाउँमा ब्रोडब्याण्ड अप्टिकल फाइबर बिस्तार गरिरहेको छ,’ मन्त्री बस्नेतले भने ।

कार्यक्रममा साउथ एशिएन टेलिकम रेगुलेटर्स काउन्सिलका अध्यक्ष डा. शाहजाहन महमुदले सार्क मुलुकहरुबीच दूरसंचारको क्षेत्रमा समस्याहरु फरक भएपनि केहि सामाजिक अवस्थाले गर्दा समान मुद्धाहरु रहेको बताए ।

‘हामी बीच समाजिक संजालहरुले बढाएको समस्या र चुनौतीहरुले पछिल्ला दिनहरुमा समस्या आउन सक्ने देखिन्छ, यसको निराकणमा लाग्नु पर्दछ,’ उनले भने ।

त्यसैगरि उनले सदस्य मुलुकहरुबीच मोबाइल रोमिङ्ग शुल्कको विषयमा छलफलहरु भएपनि त्यसले सार्थकता नपाएको बताए ।

कार्यक्रममा सूचना तथा संचार सचिव केदार बहादुर अधिकारीले विभिन्न नितीगत विषयहरुमा हुने छलफल र सहमतीले आगामी दिनमा कानून निर्माणमा सहयोग पुर्याउने भनाई राखे ।

नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले पछिल्ला दिनहरुमा प्रविधिहरु परिवर्तन र नयाँ आउने गर्दा नियमन गर्न निकै चुनाती भएको बताए ।

‘करिब ३/४ वर्षमा प्रविधिहरु परिवर्तन हुने र नयाँ आउने गरेको छ भने नियमन कानून भने पुरानो नै हुँदा चुनाती बढिरहेको छ,’ अध्यक्ष झाले भने ।

उनले नेपाल जस्तो भौगोलिक बिकटता भएको मुलुकमा भिस्याट बाहेक अन्य प्रविधिबाट टेलिकम सेवा दिन कठिन भएको दाबी समेत गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणको संयोजनमा मंगलवारदेखि शुरु भएको तीन दिने बैठकमा नेपालसहित यस क्षेत्रका नौ देशका दूरसञ्चारका नियामक निकायका प्रमुखसहित ती देशका सूचना तथा सञ्चार मन्त्रालयसित सम्बन्धित प्रतिनिधिको सहभागिता छ ।

उक्त बैठकले दक्षिण एशियाली दूरसञ्चार नियामक काउन्सिलको अध्यक्षमा नेपाललाई चयन समेत गरेको छ। सो काउन्सिलको अध्यक्षमा बंगलादेशको दूरसञ्चार नियामक निकायका प्रमुख समेत रहेका डा साहजहान मोहमुद थिए भने अब नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले अध्यक्षता गर्नेछन्।

कार्यक्रममा प्रविधि पूर्वाधार विकासको अवस्था र चुनौती, फाईभ जी, इन्टरनेट अफ थिंग्स, स्पेक्ट्रम, साइबर सुरक्षासहित दिगो विकास लक्ष्य २०३० हासिल गर्ने बारेमा समेत छलफल तथा अनुभव आदान प्रदान हुनेछ ।


क्लिकमान्डु