चौधरी समूहको लगानीमा बन्दै गरेको मध्य मोदीको ५० प्रतिशत सकियो



शांकेतिक तस्बिर

काठमाडौं । पर्वतमा आयोजना स्थल रहेको मध्यमोदी जलविद्युत् आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको छ ।

चौधरी समूहले लगानी गरेको आयोजनाको क्षमता १५.१ मेगावाट रहेको छ । औद्योगिक घराना चौधरी समूहले २ अर्ब ८० करोड लगानीमा निर्माण गरिरहेको आयोजना २०७५ सालमा निर्माण सम्पन्न हुने छ ।

यसै वर्ष निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्यका साथ काम भएपनि विभिन्न कारणले आयोजना १ वर्ष पर धकेलिएको हो ।

आयोजना प्रमुख शुदर्शन शेरचनकाअनुसार हाल सुरुङ, बाँध र विद्यूतगृह निर्माणको काम भइरहेको छ ।

भारतको कोस्टर समूहले पनि सो आयोजना लगानी गर्ने बताएपनि पछिल्लो समयमा चासो देखाएको थिएन । एक वर्ष समय थप भएपछि केही वित्तीय भार बढ्ने आयोजनाले जनाएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् मोदी गाँउपालिकाको देउपुरमा रहेको सवस्टेशनमा जोडिनेछ । हाल १ हजार ८०० मिटर सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सो आयोजनाका सुरुङ २ हजार ८०० मिटर रहेको छ । आयोजनाको हेड भने ७७ मिटर रहेको छ ।

मोदी खोलालाई पर्वत र कास्की जिल्लामा हाइड्रो हवका रुपमा लिने गरिएको छ । सो खोलामा निर्माण भएका ३ आयोजना राष्ट्रिय प्रसारणमा जोडिएका छन् भने थप ४ आयोजना निर्माणको क्रममा छन् ।


क्लिकमान्डु