सेनाले सुरु गर्यो फास्ट ट्रयाकको रुख हटाउने काम



काठमाडौं । तराई मधेशलाई काठमाडौं जोड्ने रणनीतिक महत्वको आयोजनाको रुपमा रहेको काठमाडौं तराई मधेश द्रूत मार्गको काम सुरु भएको छ ।

आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले निर्माण सुरु गरेको हो । आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको र पहिलो चरणमा द्रूतमार्गको एलाइनमेन्टमा पर्ने रुख हटाउने काम प्रारम्भ भएको हो ।

सेनाका सहायक रथी भरतबहादुर खड्का नेतृत्वको टोलीले रुख हटाउने काम सुरु गरेको छ ।

सुरुमा सो मार्गमा ३०मिटरको मात्रै ट्रयाक खोलिएको थियो । हाल ५० मिटरको ट्रयाक बनाउनुपर्ने भएकाले रुख कटानलाई पहिलो प्राथमिकता राखिएको आयोजनाले जनाएको छ ।

परियोजनाको काम सुरु भएपछि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) मा रहेको अन्यौलता भने कायमै नै रहेको छ ।

सेनाले २०७० सालमा ट्रयाक खोलेको थियो । १ खर्ब १२ अर्ब अनुमानित लागत मानिएको आयोजना ७६ किलोमिटर लामो रहेको छ ।

स्वदेशी लगानीमा निर्माण गर्न लागिएको आयोजना निर्माण भएपछि देशको आर्थिक विकास र विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

आयोजना निर्माण भएपछि काठमाडौंदेखि तराई पुग्न एक घण्टा मात्रै लाग्नेछ ।

आयोजनाले लागि सरकारले १ अर्ब ६४ करोड यसअघि नै खर्च गरेको र चालु आवमा १० अर्ब बजेट विनियोजन गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको परियोजनाको काम सुरु भएपछि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) मा रहेको अन्यौलता भने कायमै नै रहेको छ ।

एक भारतीय परामर्शदाता कम्पनीले तयार पारेको उक्त प्रतिवेदन अपुरो रहेको भन्दै विज्ञहरुले थप अध्ययन गर्नुपर्ने बताउँदै आएका छन् ।


क्लिकमान्डु