१२ दिनभित्रै आइपुग्दैछ पेट्रोलियम पाइपलाइनको पाइप, अर्काे महिना ग्राउन्ड ब्रेकिङ



काठमाडौं । बहुचर्चित नेपाल भारत पेट्रोलियम पाइपलाइन निर्माणले मूर्त रुप लिन लागेको छ ।

नेपालतर्फ ३७ किलोमिटर पाइपलाइन बनाउनु पर्नेमा केही पाइपहरु डिसेम्बर महिनाभित्रमै नेपाल आइपुग्ने नेपाल आयाल निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

‘१० देखि १२ मिटर लम्बाइका पाइपहरु छन्, केही पाइपहरु डिसेम्बर महिनाभित्रमै नेपाल आइपुग्छन्, पाइप राख्नको लागि हामीले जग्गाको ब्यवस्था समेत गरिसकेका छौं,’ भट्टराईले क्लिकमाण्डूसँग भने ।

डिसेम्बर महिनाभित्रमै पाइप नेपाल आइसक्नको लागि अबको १२ दिनभित्रमा पाइप नेपाल आइसक्नु पर्नेछ ।

नेपाल भारत पेट्रोलियम पाइपलाइनको लागि आवश्यक पर्नेमध्ये केही पाइपहरु भारतको मोतिहारीमा र केही पाइपहरु नेपाल ल्याउने तयारी गरिएको छ । नेपाल ल्याउने पाइप राख्नको लागि निगमले बीरगन्ज नजिकै सिमरामा रहेको बीरगन्ज चिनी कारखनाको जग्गा भाडामा लिएको छ ।

पाइपलाइनको लागि आवश्यक पाइपहरु भारतको हैदराबाद तथा दक्षिण भारतमा उत्पादन भइरहेको निगमले जानकारी दिएको छ । उत्पादन भएको ठाउबाट नेपाल भित्र्याउन केही समय लाग्ने जानकारी ढुवानीकर्ताले दिएको भट्टराईले बताए ।

नेपालमा पाइप आइसकेपछि पाइप राख्ने खाल्डो खन्ने कार्य सुरु गर्ने योजना निगमको छ । यसको सिलान्यास आगामी जनबरी महिनामा गरिने भट्टराईले जानकारी दिए ।

‘डिसेम्बर महिनाभित्रमा पाइप आइपुग्छ, जनवरी महिनामा ग्राउन्ड ब्रेकिङ सेरेमोनी (सिलान्यास) हुन्छ,’ उनले भने ।

पाइप विछ्याउनको लागि पाइप बिछ्याउने कम्पनीले पनि साइड हेरेर फर्किसकेको निगमले जानकारी दिएको छ ।


क्लिकमान्डु