प्राधिकरणमा कुलमान इज्जत कमाउदै, ६ महिनामा घुस लिदा लिदैं १५ कर्मचारी पक्राउ



काठमाडौं । पछिल्लो एक महिनामा नेपाल विद्युत् प्राधिकरणका ५ कर्मचारी घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फक्राउ गर्यो ।

कारण घुसकै थियो । नियमअनुसार प्राधिकरणको कुनै पनि कार्यालयमा मिटर पाँउ भनेर निवेदन दिएको सात दिन भित्र मिटर दिनुपर्छ ।

घरायसी मिटरका बारेमा नागरिकता भएपछि मिटर दिनु भनेर तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले मातहतका कार्यालयलाई समेत कडा निर्देशन दिन र व्यवहारिक रुपमा कार्यान्वयन गर्न कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ बुँदे निर्देशन नै दिए ।

सुकुम्बासीले समेत मिटर पाउने व्यवस्था गरियो । तर प्राधिकरणका कर्मचारीले मिटर माग्दै आवेदन दिएका नागरिकसँग निरन्तर घुस मागेको र अख्तियारले रंगेहात पक्राउ गर्न थालेपछि प्राधिकरण नेतृत्व समस्यामा परेको छ ।

अख्तियारको तथ्यांकअनुसार पछिल्लो ६ महिनामा मात्रै प्राधिकरणका १५ जना कर्मचारी घुस लिदा लिदै फक्राउ परेका छन् । उनीहरु ठूलो रकम घुस लिएको पनि देखिदैन । पछिल्लो पटक पोखराको एक वितरण केन्द्रका कर्मचारी २५ हजार घुससहित पक्राउ परे ।

यस्तै भक्तपुरका एक कर्मचारी समेत १५ हजार घुस सहित पक्राउ परे । कुलेश्वरका एक कर्मचारी १० हजार घुससहित पक्राउ परे । प्राधिकरणका कर्मचारी घरायसी मिटर दिदा घुस मागेको अभियोगमा पक्राउ परेपछि समस्यामा परेको नेतृत्वले आन्तरिक रुपमा छानबिन गरेको बताएपनि घुस प्रकरण रोकिएन ।

अति गर्नु अतिसार नगर्नु भन्ने नेपाली उखान जस्तै प्राधिकरणको नेतृत्व आजित भएपछि यतिखेर आएर कडा निर्देशन जारी गरेको छ । प्राधिकरणले भनेको छ ‘ कोही कर्मचारीले घुस लिएको पाइए त्यस्ता कर्मचारी माथि कडा कारवाही हुन्छ ।’

यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आन्तरिक रुपमा नै घुस नियन्त्रणका लागि कर्मचारी परिचालन गरेका छन् । ग्राहकलाई दुःख दिएको, पैसा मागेको पाइए त्यस्ता कर्मचारीलाई कडा कारवाही गर्ने अख्तियार दिइए पछि सुराकीका रुपमा परिचालित कर्मचारीले तिनलाई पक्राउ गर्नेछ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक सुनिल ढुंगेलका अनुसार घुस माग्ने कर्मचारी माथि अब प्राधिकरण सहन सक्दैन । केन्द्रमा घिसिङका कारण प्राधिकरणको साख फर्किएपनि कर्मचारी घुस प्रकरणमा संलग्न भएपछि उनी तनावमा परेका हुन् ।

विशेष गरी तराई मधेसका जिल्लामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर घुस मागेको रिपोर्ट प्राधिकरणको केन्द्रीय कार्यालयमा आएको छ । ऊर्जा मन्त्रालयले सञ्चालन गरेको टोल फ्रि नम्बरमा समेत कर्मचारीले घुस मागेको दर्जनौ उजुरी प्राप्त भएको छ । तर हालसम्म प्राधिकरणले त्यस्ता कर्मचारीलाई कारवाही गर्न सकेको छैन ।


क्लिकमान्डु