स्टकको आगलागीको मूल्यांकन गर्न छानबिन समिति



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार राति भएको आगलागीको मूल्यांकन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

सो समितिमा नेपाल धितोपत्र बोर्ड, स्टकका अधिकारीसमेत सदस्य रहने स्टकका वरिष्ठ अधिकृत मुराहरि पराजुलीले जानकारी दिए । समितिमा को-को रहने भन्ने बारेमा अहिले टुंगो लागेको छैन ।

आगलागीका कारण स्टकको ५० लाख रुपैयाँभन्दा बढी क्षति भएको हुनसक्ने देखिएको छ । यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्सलेसमेत छानबिन शुरु गरेको छ ।

‘थप क्षति कति भयो भन्नेबारेमा अध्ययनबाट मात्रै थाहा हुन्छ, छानबनि प्रक्रिया प्रारम्भिकरुपमा शुरु भएको छ,’ पराजुलीले भने ।

उता आगलागीका कारण आज केही समय बन्द भएको धितोपत्र बजार भने सकारात्मक देखिएन । स्टकको केन्द्रीय सर्भर नै नचलेपछि कारोबार एक घण्टा ५५ मिनेटपछि शुरु भएको थियो । बजार सामान्यतया बिहान ११ बजेदेखि शुरु हुने भए पनि आज १३ बजेदेखि शुरु भएको थियो ।

आज बजार भने साँझ १७ बजेसम्म खुला रहेको थियो । स्टककाअनुसार आज कुल १५३ कम्पनीको १४ लाख ८४ हजार ३६१ कित्ता सेयर ४५ करोड ३१ लाख ४४ हजार ९२९ रुपैयाँ मूल्यमा कारोबार भएको छ ।


क्लिकमान्डु