बिजुली उत्पादनमा प्राधिकरण र निजी क्षेत्र बराबर, एकाधिकार तोडिदै
काठमाडौ। नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ ।
निजी क्षेत्रले व्यावसायिक उत्पादन शुरु गरेको थापा खोला र सर्दी खोला जोडिएपछि प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन बराबरी हैसियतमा पुगेको हो ।
मुस्ताङमा आयोजनास्थल रहेको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केही दिन पहिलेबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । यस्तै कूल चार मेगावाटको सर्दी खोला जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरु भएको छ ।
मुस्ताङको थासा गाउँपालिका-१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाबाट १३.६ मेगावाट विद्युत् उत्पादन भएको छ ।
माउण्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको सो आयोजनाले गत भदौदेखि परीक्षण उत्पादन थालेको थियो । परीक्षण उत्पादन सफल भएपछि गत हप्तादेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका सुदीप खड्काले बताए ।
म्याग्दीको नारच्याङस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सवस्टेशन बनाएको छ ।
ती दुई निजी क्षेत्रका आयोजना जोडिएपछि ६७ जलविद्युत् केन्द्रले राष्ट्रिय प्रणालीमा ४७८ मेगावाट बराबरको योगदान गरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिनुभयो । प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन समान ४७८ मेगावाट पुगेको छ । यसअघि कूल ६५ आयोजनाबाट ४६० मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।
प्राधिकरणको बराबर नै समान हैसियतमा पुगेपछि निजी क्षेत्रसमेत उत्साहित भएको छ । निजी क्षेत्रले हाल तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजना निर्माण गरिरहेको छ । उदारीकरणको शुरूपछि नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले समेत प्रवेश पाएको थियो ।
खिम्ती र भोटेकोशी विदेशी लगानीमा निर्माण भए पनि त्यसलाई नेपालका ऊर्जा उद्यमीले निजी क्षेत्रको पहलका रूपमा अथ्र्याउने गरेका छन् । त्यसमध्ये ४५ मेगावाट क्षमताको भोटेकोशी हाल बन्द अवस्थामा छ । बाढी पहिरो र ‘गोरखा भूकम्प’को चपेटामा परेको सो आयोजना विगत तीन वर्षदेखि बन्द रहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागार्इं प्राधिकरणकै हैसियतमा निजी क्षेत्र पनि पुग्नु आफूहरूका लागि खुशीको विषय भएको बताए । हाल निर्माणका क्रममा रहेका केही आयोजना राष्ट्रिय प्रसारणमा जोडिएपछि प्राधिकरणको भन्दा बढी हिस्सा निजी क्षेत्रको नै हुने देखिन्छ ।
प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको हाल परीक्षण उत्पादन भइरहेको छ । सो आयोजनाले केही दिनपछि व्यावसायिक उत्पादन शुरु गर्ने तयारी गरेको छ । यस्तै कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालू आवको अन्त्यसम्म सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।
यस्तै प्राधिकरणको अर्को आयोजना त्रिशूली थ्रि ‘ए’ को उत्पादन कहिलेदेखि शुरु गर्ने भन्ने विषयमा कुनै आधिकारिक जानकारी दिइएको छैन ।
बराम्चीको विद्युत् पुनः जोडियो
गोरखा भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत् आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन शुरु गरेको छ ।
खोलामा पानी घटेका कारण हाल करिब दुई मेगावाट विद्युत् उत्पादन भई लामोसाँघुमा रहेको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ । निजी क्षेत्रको युनिक हाइडेल प्रालिले निर्माण गरेको सो आयोजना ४.२ मेगावाट क्षमताको छ ।
जुगल गाउँपालिकाअन्तर्गत बरम्ची खोलामा सञ्चालित क्षतिग्रस्त उक्त आयोजनालाई मर्मत गरी २०७३ साउन ४ गते सञ्चालनमा ल्याइए पनि बाढी र पहिरोले तीन दिनपछि आयोजनालगायत सर्वसाधारणको जग्गा जमिनसमेत पुरेको थियो । रासस