दक्ष कर्मचारी नहुँदा टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेनन्



कञ्चनपुर । सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धि गर्न हुलाक कार्यालय कञ्चनपुरले सञ्चालनमा ल्याइएको टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेको छैन ।

दक्ष कर्मचारीको अभाव र गुणस्तरहीन उपकरणका कारण टेलिसेन्टर सेवा प्रभावकारी बन्न नसकेका हुन् ।

फोटोकपी, लेमिनेशन, फ्याक्स, कम्प्युटर, प्रिन्ट, टेलिफोन, स्क्यानिङ र इन्टरनेट सेवा उपलब्ध गराउनका लागि खोलिएका टेलिसेन्टमध्ये आधाभन्दा बढीले विद्युत्, इन्टरनेटको समस्या र दक्ष कर्मचारीको अभावका कारण सेवा प्रवाह गर्न सकेका छैनन् ।

बजारमा टेलिसेन्टरले निर्धारण गरेको दर निजी क्षेत्रको भन्दा कम भए पनि जानकारीको अभावमा सेवाग्राही नआउँदा टेलिसेन्टर सेवा सञ्चालन गर्न कठिनाइ हुन थालेको हुलाक कार्यालयका सूचना अधिकारी देवसिंह सामन्तले जानकारी दिए।

जिल्ला हुलाक कार्यालय महेन्द्रनगर र कृष्णपुरमा सञ्चालनमा रहेका टेलिसेन्टरले आंशिक रुपमा आम्दानी गर्दै आए पनि पुनर्वास, बेलौरी, बेलडांडी, झलारी, चाँदनीलगायत क्षेत्रका टेलिसेन्टर बन्द अवस्थामा रहेका छन् ।

टेलिसेन्टरका बिग्रिएका उपकरण मर्मतका लागि केन्द्रबाट बजेट नआउँदा सेन्टरको सेवा प्रवाहलाई नियमित गर्न नसकिएको कार्यालयका सूचना अधिकारी सामन्तले बताए ।

टेलिसेन्टर सेवालाई प्रभावकारी बनाउनका लागि यसको उपयोगिता र उपलब्धिका विषयमा गहन अध्ययन हुनु जरुरी रहेको उनले बताए ।

टेलिसेन्टर सेवालाई निरन्तर रुपमा सञ्चालन गर्नका लागि आवश्यक पर्ने मसलन्द र उपकरण मर्मत गर्न पर्याप्त बजेटको व्यवस्था गरिनुपर्ने हुलाक कार्यालयका कर्मचारी बताउँछन् । आव ०६७/६८ मा यहाँका सात ठाउँमा टेलिसेन्टर सेवा सञ्चालनमा ल्याइएका थिए ।


क्लिकमान्डु