३७ स्थानमा साँझ ५ बजेदेखि मतगणना, कोको छन् ‘हेवीवेट’ ? कुन क्षेत्रमा कसले जित्ला ?



काठमाडौं । पहिलो चरणमा निर्वाचन भएको ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा ५ बजेबाट मतगणना सुरु हुने भएको छ । यी ३७ सिटमध्ये केही क्षेत्रमा ‘हेवीवेट’ नेता समेत मैदानमा उत्रेका थिए ।

कोकोबीच प्रतिस्पर्धा ?
गोरखाः दुई निर्वाचन क्षेत्र रहेको गोरखा पहिलो चरणमा सबैभन्दा बढी चर्चामा रहेको जिल्ला हो । गोरखा क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका चीनकाजी श्रेष्ठ र बाम गठबन्धनबाट माओवादीका हरि अधिकारीले प्रतिस्पर्धा गरेका छन् ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धामा छन् । बाबुरामलाई नेपाली काँग्रेसको सर्मथन छ भने नारायणकाजी बाम गठबन्धनका साझा उमेद्वार हुन् ।

नुवाकोट: नुवाकोटमा २ निर्वाचन क्षेत्र रहेका छन् । यी दुबै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका हेबीवेट नेताहरु प्रतिस्पर्धामा थिए । क्षेत्र नं १ मा काग्रेस नेता डा. रामशरण महत र माओवादी केन्द्रका हितबहादुर तामाङबीच प्रतिस्पर्धा हुने आाकलन गरिएको छ भने, क्षेत्र नम्बर २ मा एमालेका नारायण खतिवडा र नेपाली काँग्रेसका अर्जुननरसिंह केसीबीच प्रतिस्पर्धा हुनेछ ।

सिन्धुपाल्चोक: सिन्धुपाल्चोक जिल्लामा २ निर्वाचन क्षेत्र छन् । यी दुई निर्वाचन क्षेत्रमा नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन र नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीवीच चुनावी तालमेल भएको छ ।

क्षेत्र नं.१ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत र माओवादी केन्द्रका अग्नी सापकोटाबीच प्रतिस्पर्धा हुँदैछ भने, क्षेत्र नं. २ मा नेकपा एमालेका शेरबहादुर तामाङ र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणावीच प्रतिष्पर्धा हुँदैछ ।

धादिङ: धादिङमा प्रतिनिधिसभाका लागि २ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ–१ बाट बाम गठबन्धनबाट भूमि त्रिपाठी र कांग्रेस तर्फबाट विश्व अर्याल चुनावी मैदानमा छन् । धादिङ २ मा नेपाली काँग्रेसको तर्फबाट दिलमान पाख्रिन र वाम गठबन्धनबाट एमाले नेता खेमप्रसाद लोहनीले प्रतिस्पर्धा गरेका छन् ।

बाग्लुङ : दुई निर्वाचन क्षेत्र रहेको बाग्लुङ क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसबाट चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका डा सूर्य पाठक प्रतिष्पर्धामा रहेका छन् ।

क्षेत्र नं. २ मा वाम गठबन्धनबाट माओवादीका देवेन्द्र पौडेल र नेपाली काङ्ग्रेसका नरबहादुर पुनबीच प्रतिष्पर्धा रहेका छन् ।

रूकुम (पश्चिम भाग): प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको रुकुम जिल्ला पश्चिम भागमा प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादी नेता जनार्दन शर्मा र नेपाली काङ्ग्रेसका गोपालजीजङ्ग शाहबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

सोलुखुम्बु: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको सोलुमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमकुमार राई र नेपाली कांग्रेसका तर्फबाट बलबहादुर केसीले प्रतिष्पर्धा गर्दैछन् ।

ओखलढुङ्गा: प्रतिनीधिसभाको लागि १ निर्वाचन क्षेत्र रहेको  ओखलढुङ्गामा नेपाली कांग्रेसका तर्फबाट रामहरि खतिवडाका र बाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिष्पर्धामा छन् ।

ताप्लेजुङः प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ्मा प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराई र नेपाली कांग्रेसका तर्फबाट केशब दाहाल प्रतिष्पर्धा गर्दैछन् ।

संखुवासभाः  प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको संखुवासभामा प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनबाट एमालेका राजेन्द्र गौतम र नेपाली कांग्रेसका तर्फबाट दीपक खड्का चुनावी मैदानमा छन् ।

पाँचथर: पाँचथरमा नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्दाम्बे र बाम गठबन्धनबाट एमाले नेता बसन्त नेम्वाङ्  चुनावी प्रतिष्पर्धामा छन् ।

भोजपुर: भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट माओवादीका नेता सुदन किँराती र नेपाली कांग्रेसका तर्फबाट उमेशजंग रायमाझीबीच हुने आँकलन गरिएको छ ।

खोटाङ: प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र रहेको खोटाङमा नेपाली कांग्रेसका तर्फबाट सरस्वती मजिमय र बाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराईबीच प्रतिष्पर्धा हुँदैछ ।

रसुवा: रसुवामा नेपाली कांग्रेसका मोहन आर्चाय र बाम गठबन्धनबाट एमालेका जनार्दन ढकालबीच प्रतिष्पर्धा हुँदैछ ।

रामेछाप: १ मात्रै निर्वाचन क्षेत्र रहेको रामेछपमा बाम गठबन्धनबाट माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार कान्छाराम तामाङबीच प्रतिष्पर्धा हुँदैछ ।

मुस्ताङ: १ निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली काङ्ग्रेसबाट रोमी गौचन थकाली र वाम गठबन्धनबाट एमालेका प्रेमप्रसाद तुलाचन चुनावी प्रतिष्पर्धामा छन् ।

लमजुङ: एक निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली काङ्ग्रेसका तर्फबाट दिलबहादुर घर्ती र बाम गठबन्धनका तर्फबाट माओवादी नेता देव गुरुङ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मनाङः एक निर्वाचन क्षेत्र रहेको मनाङमा बाम गठबन्धनबाट एमालेका पाल्देन गुरुङ र नेपाली काङ्ग्रेसका तर्फबाट टेकबहादुर गुरुङ चुनावी मैदानमा छन् ।

रुकुम (पूर्वी भाग): रुकुम जिल्ला पूर्वी प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता कमला रोका र नेपाली काङ्ग्रेसका नेता हरिशंकर घर्तीबीच प्रतिष्पर्धा हुने अनुमान छ ।

रोल्पा: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेका रोल्पामा प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट माओवादी केन्द्रका वर्षमान पुन र नेपाली काङ्ग्रेसकातर्फबाट अमरसिंह पुनबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

जाजरकोट: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको  जाजरकोटमा नेपाली काङ्ग्रेसका राजिव विक्रम शाही र वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।

हुम्ला: एक निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम गठबन्धनबाट माओवादी केन्द्रका चिमी लामा र नेपाली काङ्ग्रेसका मङ्गल शाहीबीच प्रतिष्पर्धा हुँदैछ ।

मुगु: एक निर्वाचन क्षेत्र रहेको मुगुमा नेपाली काङ्ग्रेसका तर्फबाट हस्तबहादर मल्ल र वाम गठबन्धनका तर्फबाट एमाले नेता गोपाल बम चुनावी प्रतिस्पर्धा रहेका छन् ।

जुम्ला: एक निर्वाचन क्षेत्र भएको जुम्लामा नेपाली काङ्ग्रेसका तर्फबाट देवेन्द्र शाही र बाम गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत चुनावी मैदानमा छन् ।

कालिकोट: एक निर्वाचन क्षेत्र भएको कालीकोटमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दुर्गाबहादुर रावत र नेपाली काङ्ग्रेसका भुपेन्द्रजङ्ग शाही चुनावी मैदानमा रहेका छन् ।

डोल्पा: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको डोल्पामा वाम गठबन्धनका तर्फबाट एमाले नेता धनबहादुर बुढा र नेपाली काङ्ग्रेसका तर्फबाट अङ्गद बुढाबीच प्रतिष्पर्धा हुँदैछ ।

दार्चुला: प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र  रहेको दार्चुलामा वाम गठबन्धनको तर्फबाट गणेश ठगुन्ना र नेपाली काङ्ग्रेसका तर्फबाट विक्रम सिंह चुनावी मैदानमा छन् ।

बझाङ: एक निर्वाचन क्षेत्र रहेको बझाङमा नेपाली काङ्ग्रेसकातर्फबाट पृथ्वीबहादुर सिंह र वाम गठबन्धनका तर्फबाट एमाले नेता भैरवबहादुर सिंह चुनावी मैदानमा छन् ।

बाजुराः एक निर्वाचन क्षेत्र रहेको बाजुरामा प्रतिनिधिसभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका लालबहादुर थापा र नेपाली काङ्ग्रेसका कविराज पण्डित चुनावी मैदानमा छन् ।

बैतडी: एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनबाट एमालेका दामोदर भण्डारी र नेपाली काङ्ग्रेसका नरबहादुर चन्दबीच चुनावी प्रतिष्पर्धा हुँदैछ ।


क्लिकमान्डु