भोलि सबै अन्तर्राष्ट्रिय उडान हुने, विमानस्थल जान पर्यटक बस



काठमाडौ । दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावका दिन आन्तरिक उडान प्रभावित हुने भएको छ । काठमाडौंबाट हाल दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गरेमा चुनावको दिन ७५ वटा मात्रै हुने भएको छ । एयरलाइन्स कम्पनीहरुले चुनावको दिनमा ७५ प्रतिशत उडान कटौति गर्न लागेका हुन ।

निजी वायुसेवा प्रदायकहरूको संगठन (आयोन) ले विज्ञप्तीनै निकाले कटौति हुने जनाएको हो । चुनावमा अत्यावश्यक सवारी साधानबाहेक अरु सवारी नचल्नेलगायतका कारण आन्तरिक रुटमा झन्डै ७५ प्रतिशत उडान हुने छैनन् । आयोनमा हाल ८ वटा हेलिकप्टरसहित १५ वटा जहाज कम्पनी सदस्य छन् ।

‘चुनावमा निजी र सार्वजनिक सवारी साधन नगुड्ने भएकाले बिहीबार यात्रुको टिकट माग नै कम भएको हो,’ आयोनका प्रवक्ता घनश्याम आचार्यले भने । उनका अनुसार चुनावका दिन उडान बन्द नै गर्नुपर्ने बाध्यकारी सरकारी नियम छैन । उद्धार तथा चुनावी मामलामा हेलिकप्टर उडान भइरहन्छन् ।

सर्वाधिक आन्तरिक उडान भर्ने बुद्ध एयरले चुनावका दिन पोखरा र चितवनमा मात्रै उडान राखेको छ । बिहीबार पोखरा र चितवनमा गरी ६ वटा हाराहारी उडान तालिका छ ।

६ वटा जेटस्ट्रिमसहित सुगम रुटमा ८ वटा विमान उडाउँदै आएको यती एयरलाइन्सले पनि करिब ९० प्रतिशत उडान कटौती गरेको छ । यस कम्पनीका जहाजले दैनिक औसत ३० वटा उडान गर्छन ।

त्यसैगरी टुइनअटर र डोर्नियर गरी ५ वटा विमान रहेको ताराले पोखराबाट जोमसोमका लागि एउटा र काठमाडौंबाट लुक्लाका लागि दुइटा मात्रै उडान राखेको छ ।

ताराका विमानले सामान्य दिनमा २० हाराहारी उडान गर्थे । त्यसैगरी तीनवटा सीआरजे विमानमार्फत भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा रुटमा उडान भर्दै आएको श्री एयरलाइन्सले चुनावका दिन सबै उडान कटौती गरेको छ ।

दुईवटा सीआरजे विमानमार्फत भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा रुटमै दैनिक १६ वटा उडान भर्दै आएको सौर्य एयरलाइन्सले पनि पूरै उडान कटौती गरेको छ ।

चुनावमा अन्तर्राष्ट्रिय उडान भने कटौति नहुने
आन्तरिक रुटमा ७५ प्रतिशत हाराहारी उडान कटौती हुने भएपनि अन्तर्राष्ट्रिय रुटका उडानमा भने सामान्य दिनसरह उडान हुने भएका छन् । विदेशी एयरलाइन्सहरूको संगठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न) का अनुसार, चुनावका कारण कुनै पनि विदेशी एयरलाइन्सलले उडान कटौती गरेका छैनन् । नेपाललाई बाँकी विश्वसँग जोड्ने २८ हाराहारी विदेशी एयरलाइन्सले दैनिक ३० देखि ४५ सम्म उडान गर्छन् ।

पर्यटन बोर्डको संयोजनमा विमानस्थलसम्मका लागि तीनवटा सट्टल बस चलाउने भएको छ । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने बसहरूको रुटका लागि पर्यटन प्रहरीको टोल फ्री नम्बरमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

यी बसले प्रतियात्रु ३ सय रुपैयाँ टिकट शुल्क तोकेको छ । यी बसको रुटमा काठमाडौंभित्रका सबै तारेहोटल र ठमेललाई जोडिएका छन् ।


क्लिकमान्डु