मौन अवधिमा आचारसंहिता उल्लघंन बढ्यो, आयोगमा उजुरीको चाङ, भएन कतै कारवाही



काठमाडौं । मौन अवधिमा राजनीतिक दल र तिनका उम्मेदवारले आचारसंहिता हनन गरेको भन्दै देशव्यापी रुपमा नै उजुरीको चाङ लागेको छ ।

निर्वाचन आयोगका विभिन्न कार्यालयहरुका अनुसार भोज भतेर गरेको, पैसा बाँडेको, मौन अवधिमा समेत चुनाव प्रचार गरेको तथा मत प्रभावित पार्न अनेकन कार्य गरेको भन्दै उजुरीको चाङ लागेको बताइन्छ ।

विशेष गरी तराई मधेशका जिल्लामा त्यस्ता उजुरी बढी परेको बताइन्छ । कतिपय स्थानमा मत प्रभावित पार्न स्काभेटर प्रयोग गरेर बाटो बनाएको, स्थानीय तहका जनप्रतिनिधि नै त्यस्तो कार्यमा संलग्न भएको तथा पैसाको अत्याधिक चलखेल भएको समेत उजुरीमा आएको छ ।

घन्टा घन्टामा उजुरीको चाङ लागेपनि निर्वाचन आयोगले त्यसतर्फ ध्यान नदिएको भन्दै गुनासो पनि बढेको छ ।

राजनीतिक सभा, सार्वजनिक छलफल र राजनीतिक कार्यक्रम गर्न नहुने भए पनि त्यसलाई निरन्तरता दिइएको भन्ने उजुरी त सामान्य जस्तै हुन थालेको छ ।

विराटनगर महानगरपालिका नजिकै पार्टी प्यालेसमा मंगलबार एक मुख्य दलले सभा गरेको भन्दै श्रव्य दृश्यसहित उजुरी परेको छ ।

यस्तै तराईका जिल्लामा मौन अवधिमा अझै बढी भोज भतेर गरेको भन्ने उजुरीको चाङ लागेको छ । धनुषा, सप्तरी, सिराहा, महोत्तरी, बारा, पर्सा, रौतहटमा भोज भतेरको प्रतिस्पर्धा नै हुन गरेको छ ।

निर्वाचन आयोगमा पैसा बाडेको र भोज भतेर गरेको भन्न्े उजुरीको मात्रा बढी रहेको छ । आयोगका क्षेत्रीय कार्यालयले प्राप्त भएको उजुरीको छानबिन गरेको जनाएपनि कारवाही यस्तो भयो भनेर आम जनताले थाहा पाउन सकेका छैनन् ।

स्पष्टीकरण लिँदा उक्त पार्टीका निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण मात्र गरिएको र सामान्य खाजा खाएको बताउने गरेका छन् ।

कानेपोखरी गाउँपालिका ३ को कामत माझीटोलमा जेसीभीसमेत परिचालन गरी विकास निर्माणअन्तर्गत सडक निर्माण हुँदै गरेको, सोही वडाको सामाजिक प्राथमिक विद्यालयनजिक पनि सडककै काम हुँदै गरेको, सुन्दरहरैंचा नगरपालिका ५ मा बिजुलीको पोल गाड्ने काम भइरहेको भन्ने उजुरी समेत आएको छ । तर ती उजुरीमाथि हालसम्म कारवाही नभएको गुनासो आएको छ ।

निर्वाचन प्रचारका क्रममा राखेका तुल÷ब्यानर, झन्डा र पोस्टर आफैं हटाउने सहमति भए पनि मौन अवधिमा त्यस्ता प्रचार सामग्री बढाइएको छ ।

राजधानी काठमाडौँमा समेत पैसा बाँडेको र भोज भतेर गरेको उजुरी परेको बताइन्छ । तर आयोगले भने त्यस बारेमा आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन ।


क्लिकमान्डु