टेलिकमको मोबाइल सेवा मुस्ताङ र दोलखाको दूर्गम क्षेत्रमा



काठमाडौं । नेपाल टेलिकमले मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गते देखि सेवा सञ्चालनमा आएको हो ।

मुस्ताङ जिल्लाको जोमसोमदेखि करिब ४० किलोमिटर टाढा करिब ४ हजार मिटरको उचाईको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको टेलिकमले जानकारी दिएको छ ।

सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम–कोरला हाइवे अन्तर्गत ताङवे देखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउछ । यसबाट अपर मुस्ताङ र दामोदर कुण्डको भ्रमणमा आएका पर्यटकका साथै सो क्षेत्रका ४ सय भन्दा बढी घरधुरी लाभान्वित हुने बताईएको छ ।

त्यसैगरी दोलखा जिल्लाको डाँडाखर्कमा स्थापना गरिएको बिटिएसबाट ४ हजार भन्दा बढी सेवाग्राही लाभान्वित हुने छन् । दोलखाको मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु र रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुने छन् ।

यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा समेत चलाउन समेत सकिने टेलिकमले जनाएको छ ।


क्लिकमान्डु