गगन थापामाथि बम आक्रमण गरेको भन्दै प्रहरीले ४० जनालाई पक्रियो



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा काठमाडौ क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापामाथि बम आक्रमण गरेको आशंकामा प्रहरीले उपत्यका विभिन्न स्थानबाट ४० जनालाई गिरफ्तार गरेको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी रविन्द्रबहादुर धानुकले बुढानीलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलाइ पक्राउ गरिएको जानकारी दिए ।

एसएसपी धानुकले अहिले काठमाडौं उपत्यकाको चारैतिर प्रहरीले चेकिड। थालेको बताउदै तीन वटै जिल्लाका मतदानस्थलमा म्यादी, जनपद्, शसस्त्र र बाहिरी घेरामा सेनाको सुरक्षा दिइएको बताए ।

उनले साँझ सशस्त्र प्रहरी र नेपाली सेनाको गस्ती पनि बढाइएको र शान्ति सुरक्षाको अवस्थामा कुनै कमजोरी हुन नदिइएको पनि बताए ।

चुनावी प्रचार अभियानमा रहेका थापालाइ लक्षित गरी सोमवार अपरान्ह बुढानिलकण्ठ नगरपालिका २ चपलीको महादेव कोलोनीमा बम आक्रमण भएको थियो ।

सो आक्रमणमा थापासहित उनका ११ जना सहयोगी घाइते भएका छन् ।

घाइतेमध्ये दुइजनाको अवस्था गंभिर छ । टाउको र ढाडमा चोट लागेका थापा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।


पुष्प दुलाल