काठमाडौं २ः माधब नेपाललाई दीपक कुइँकेलको चुनौति, कसले मार्ला बाजी ?



काठमाडौं । मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मत माग्ने निकै चटारो छ ।

वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले)का नेताका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेल रहेका छन् । नेपाल र कुइँकेल दुवै घरदैलोमा भोट माग्न व्यस्त छन् । निर्वाचनको समय नजिक आइसकेको हुनाले भोट माग्ने अन्तिम क्षणमा पनि सभा, समारोह र घरदैलोमा पुगिरहेका छन् ।

सो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका-९ र ३२, कागेश्वरी मनहरा नगरपालिकाको ४ देखि ९ नंसम्मका वडा र शंखरापुर नगरपालिकाका नौ वटै वडा समेटिएका छन् ।

सो निर्वाचन क्षेत्रका वाम गठबन्धनका उम्मेदवार नेपाल र काँग्रेसका उम्मेदवार कुइँकेल दुवैले आ-आफ्ले जित्ने दाबी गरिरहेका छन् । मत आफ्नो पक्षमा पार्नका लागि दौडधुप पनि उत्तिकै चलिरहेको छ ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार सो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ६४ हजार ७५६ छन् ।

स्थानीय तहको निर्वाचनमा आएको मत परिणामलाई हेर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) मत १९ हजार १९६ रहेको छ । यहाँ काँग्रेसको मत १५ हजार ६२७ रहेको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेसभन्दा एमाले एक्लैको मत तीन हजार ५६९ बढी छ । यसमा माओवादीको कूल मत पाँच हजार ७३२ जोड्दा २४ हजार ९२८ पुग्छ । यसरी हेर्दा वाम गठबन्धनको मत नौ हजार ३०१ मत बढी छ ।

नेता नेपालले आफ्नो जित सुनिश्चित रहेको उल्लेख गर्दै भने, “मेरो जित सुनिश्चित छ, स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा पनि मैले जितिसके, मलाई जिताउन यस क्षेत्रका जनता आतुर छन ।” नेता नेपाल आफूले निर्वाचन जित्नेमा ढुक्क देखिन्छन्।

नेपाली काँग्रेसका उम्मेदवार कुइँकेलले भने, “निर्वाचन जिप्नेमा म ढुक्क छु, मतदाताको मन, साथ र सहयोगले मैले चुनाव जित्छु ।” कुइँकेललाई पनि आफूले निर्वाचन जित्ने आशा बढेर गएको छ ।

उम्मेदवार नेपाल र कुइँकेलको चुनाव जित्छु भन्ने आधार त्यहाँको विकास निर्माण र जनताको मत जित्नु नै हो । सो निर्वाचन क्षेत्रबाट संविधानसभा पहिलोमा हार ब्यहोरेका नेता नेपाल दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । दोस्रो पल्ट दुई ठाँउबाट जितेका नेपालले सो निर्वाचन क्षेत्र छोडेका थिए । नेता नेपालले छोडेपछि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कुइँकेल विजयी भएका थिए ।

मत माग्ने समय पनि निकै अन्तिम चरणमा पुगेको छ । अब मतदातालाई रिझाउन सक्नेले बढी मत ल्याउने देखिन्छ । कोटेश्वरीकी मतदाता मनमाया श्रेष्ठले भनिन्, “सडक, खानेपानीको विकासदेखि लिएर जनताको दुःखमा जस्ले हेर्छ, उसैलाई मत दिने हो ।” मनमायाको भनाइले पनि जुन उम्मेदवारले मतदाताको मन जिप्न सक्छ । उसैको भागमा मत पर्ने पक्का छ ।

वाम गठबन्धनका तर्फबाट सो क्षेत्रको प्रदेश (क)मा सानु श्रेष्ठ, प्रदेश (ख)मा मणिराम फुँयाल छन् भने नेपाली काँग्रेसबाट प्रदेश (क)मा लोकेश ढकाल र प्रदेश (ख)मा मनहरि खड्का उम्मेदवार रहेका छन् । प्रदेशसभाका उम्मेदवारहरु पनि मत माग्ने हतारोमा रहेका छन् ।


क्लिकमान्डु