प्रहरीले भन्यो- कुमार घैंटेको सेयर नपाएपछि समिरमानसिंहद्वारा व्यवसायी गौचनको हत्या



काठमाडौं । गत असोज ३ गते काठमाडौंको मध्यबानेश्वरमा दिननहाडै गोली हानी हाइप्रफाइल व्यवसायी शरद गौचनको हत्या भएको थियो ।

निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका गौचनलाई आफ्नो निवासबाट निस्किएर केही पर पुग्नासाथ गाडीभित्रै गोली प्रहार गरिएको थियो ।

गौचन हत्याका मूख्य योजनाकार गुण नाइके समिरमानसिंह बस्नेतसहित हत्यामा संलग्न १५ जनामध्ये ८ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

बस्न्यातलाई पक्रउ गरेसँगै गौचन हत्याको रहस्य खुलेको छ । कुमार श्रेष्ठ उर्फ कुमार घैंटेको सेयर बिबादका कारण गौचनको हत्या भएको प्रहरीले जनाएको छ ।

गुण्डा नाइके घैंटेको ३ भदौ ०७२ मा नै प्रहरीसँगको भिडन्तमा मृत्यु भइसकेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनको सेयर दिने भनेर घैंटे मुख्य लगानीकर्ता रहेको गजुरमुखि कन्स्ट्रक्सन्सको २ कररोड ५० लाख रुपैयाँ लिएका थिए । तर, घैंटेको नाममा सेयर स्वामित्व नआइकनै उनको मृत्यु भयो । त्यसपछि घैंटेसँग लिएको २ करोड ५० लाख रुपैयाँमध्ये गुण्डा नाइके बस्न्यातले १ करोड रुपैयाँ आफ्नो भएको उदाबी गर्दै आएका थिए ।

घैंटेको मृत्यु भएपछि बस्न्यातले घैंटेको नाममा सबै सेयर आफूलाई दिन वा रकम फिर्ता गर्न पटक पटक माग गरेका थिए । तर, गौचनले उनको मागलाई वास्ता गरेनन् । र, उनीहरुबीचको विवाद उत्कर्षमा पुग्यो । प्रहरीका अनुसार सोही विवादका कारण गौचनको हत्या भएको हो ।

त्यतिमात्रै होइन, बस्न्यात समूहले बिरगंजदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्कामा गौचनको डाँफे कन्स्ट्रक्सन्ससँग कमिशन वापतको २५ रकम माग गरेको थियो । तर, गौचनले कमिशन दिन मानेनन् । र, बस्न्यात समूहले गौचनको हत्या गरेको प्रहरीले जनाएको छ ।

बस्न्यातको योजनामा २०७३ पुस ४ गते सोमबार रूपन्देही जिल्ला, देवदह नगरपालिका स्थित खैरहनीमा ४० वर्षिय तिवारीको गोली हानी हत्या भएको थियो ।

सोही समूहले २०७३ चैत्र २९ गते काठमाण्डौ, गौरीघाट स्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’को प्रांगणमा दावा लामालाई ३ गोली प्रहार गरी घाईते पारेको थियो ।

काठमाडौंको बाफलमा स्थायी घर भई विगत २ वर्ष ६ महिनादेखि नेपाल बाहिर विभिन्न देशमा बसेर बस्न्यातले नेपालभित्र विभिन्न अपराधिक क्रियाकलाप गरिरहेका थिए ।

‘नेपालका व्यवसायीहरूलाई धम्क्याई, तर्साई, आतंकित पारी रकम असुल्ने कार्य गर्दै आएकोमा केही दिन अघि नेपाल प्रवेश गरेको भन्ने विशेष सुराकीको आधारमा यस ब्यूरोको टोलीले मंसिर १६ गते नारायणघाट, चितवनबाट वर्ष ३४ का समिरमान सिंह वस्न्यातलाई पक्राउ गरिएको छ,’ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले जारी गरेको विज्ञप्तीमा भिनएको छ ।

यस्ता छन् आधार

दुर्गा तिवारी हत्यामा मनोज पुनले घटनाको सम्पूर्ण जिम्मेवारी लिएता पनि त्यस घटनाको मुख्य योजनाकार समिरमान सिंह वस्न्यात नै भएको खुल्न आएको प्रहरीले जनाकाएको छ ।

त्यसैगरी, दुर्गा तिवारीलाई गोली प्रहार गर्ने लोप्साङ लामा समिरमान सिंह वस्न्यातको मूख्य सहयोगी व्यक्ति भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दावा लामालाई गोली प्रहार गरी घाईते बनाएको घटनामा समिरमान सिंह बस्न्यातको योजनामा लोप्साङद्दारा अमर बहादुर रानामगरलाई प्रयोग गरी गोली प्रहार गरिएको थियो ।

निर्माण व्यवसायी गौचनलाई गोली प्रहार गरी हत्या गरेको घटनामा बस्न्यातको योजनामा लोप्साङ लामा र मनोज पुन लगायत अन्य १२ जना गरी जम्मा १५ जना संलग्न भएको प्रहरीले जनाएको छ ।

समिरमान सिंह बस्न्यात पक्राउ परेपछि उक्त समूहको नेतृत्व लोप्साङ लामाले सम्हालेको र आन्तरिक द्धन्द्धका कारण मनोज पुन उक्त समूहबाट अलग्गिएको नयाँ रहस्य प्रहरीले पत्ता लगाएको छ ।

को को परे पक्राउ ?

१,समिरमान सिंह बस्न्यात (मूख्य योजनाकार)
२,बसन्त थेवे
३,धनराज योङहाङ
४,राजीव स्याङताङ
५,प्रकाश बुढाथोकी
६, शिवजी महतो
७,मुकेश कुमार पाण्डे
८, सन्तोष गुरूङ

यी हुन् फरार अभियुक्त
१, मनोज पुन
२, लोप्साङ लामा
३, गंगा प्रकाश लिङदेन
४, श्याम गोम्बे गुरूङ
५, अमर बहादुर रानामगर
६, रोशन बुढाथोकी
७, अजय

के के बरामद गरियो ?

प्रहरीले बसन्त थेबे र धनराज योङहाङ बस्ने घरको परिसरमा राखिएको फुलको गमला भित्र लुकाई छिपाई राखेको हतियार र
गोली बरामद गरेको छ ।

त्यसैगरी, बा.३५ प २४६१ को साईन, बा. ४६ प ४८५३ को निलो पल्सर, बा. ४४ प ७७८६ को कालो पल्सरसहित पक्राउ गरेको छ ।


पुष्प दुलाल