विगतमा मैले के गरेँ ? र, अब के गर्छु ?: गगन थापा



राजनीतिक यात्रामा मेरो पहिलो पाइला १३ वर्षको उमेरदेखि कै हो । २०३३ सालमा काठमाडौंमा जन्मिएको म ९ कक्षा पढ्दा नै ०४६ सालको जनआन्दोलनमा सहभागि थिएँ । त्यसैबेला मैले जीबनमा पहिलोपटक टियरग्याँसको सामना गरेको हूँ ।

२०४८ सालमा नेविसंघ काठमाडौं वडा नं. ३३ को सचिव चुनिएँ । आईएससी सकेपछि पढ्नको लागि बाहिर पठाउने घर परिवारको तयारी थियो । तर, त्यतिवेला नै ममा राजनीतिको नसा लागिसकेको थियो । पहिलो बेन्चको विद्यार्थी बाहिर पढ्न जाने र अन्तिम बेन्चको विद्यार्थी राजनीतिमा लाग्ने होइन भन्ने मेरो धारणा थियो । राजनीतिलाई फोहोर छ भनेर हेरेर बस्ने होइन, त्यसको सफा गर्न आफैले राजनीति गर्नुपर्छ भन्ने मान्यताका साथ म राजनीतिमा होमिएको हूँ ।

२०५१ सालमा नेविसंघको तर्फबाट त्रिचन्द्र कलेजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को सदस्यमा अत्याधिक मतले निर्वाचित भएँ । २०५३ मा सचिव र २०५५ सालमा स्ववियू सभापति निर्वाचित भएँ ।

त्यतिवेलै त्रिभुवन विश्वविद्यालयको कुलपतिबाट विश्वविद्यालय सिनेटको सदस्यमा नियूक्त भएँ । सिनेटको सदस्य भएपछि राजनीतिकसँगै शैक्षिक आन्दोलनमा पनि मेरो अग्रसरता रह्यो । सिटीइभीटि, प्लस टु, विश्वविद्यालय लगायतका कतिपय शैक्षिक विषयहरु त्यही आन्दोलनबाट स्थापित भएका मुद्दा हुन् ।

ज्ञानेन्द्र शाहको शासनकालमा राजातन्त्रको विरोध गरेको भन्दै मलाई पक्राउ गरियो । हिरासतबाटै कान्तिपुरमा ‘लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो भने त्यस्तो राजद्रोह मबाट जीवन पर्यन्त भइरहनेछ’ भनेर लेख लेखें । अदालतमा पनि ‘अब राजतन्त्र हटाएर र गणतन्त्र ल्याउनु पर्छ भनेर म बोलेकै हुँ’ भनेर बयान दिएँ ।

मैले क्याम्पस पढ्न थालेदेखि नै ट्युसन पढाउन सुरु गरें । विहान सवेरैदेखि राति अवेरसम्म अध्ययन अध्यापनसँगै व्यवसायिक, सामाजिक र राजनीतिक क्रियाकलापमा खट्थेँ, त्यतिवेला । बागबजारमा हिमाल ट्युसन सेन्टर संचालन गरेर १५ सय जनाजति विद्यार्थीलाई पढाउने गर्थें । विहान अनामनगरमा, त्यसपछि मैतीदेवीमा, त्यसपछि कलेजमा, आफू पढ्ने । राती नौ बजे घरमा पुगेपछि छिमेकीका घरमा काम गर्ने भाइबहिनीहरुलाई घरमै बोलाएर निःशुल्क ट्युसन पढाउँथें ।

त्यसका साथै मैले एफएम अध्यात्मज्योतिमा दैनिक विहान साढे ५ देखि साढे ६ बजेसम्म प्रवचनको कार्यक्रम चलाउथेँ । त्यसपछि क्लासिक एफएफ हुदै ईमेज एफएममा प्रस्तोता तथा समाचार बाचक भएँ ।

२०५७ नेविसंघको उपाध्यक्ष र २०५९ महामन्त्री भए । विविध कारणले नेविसंघको अध्यक्ष बन्ने चाहना पुरा हुन सकेन ।

गणतन्त्र ल्याउने आन्दोलनमा नेतृत्वदायी भूमिका

२०५९ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले शासन आफ्नो हातमा लिए । अर्कोतर्फ माओवादी शसस्त्र युद्ध थियो । दलहरुले प्रतिगमन विरुद्धको आन्दोलन सुरु गरे । तर, आन्दोलनले गति लिन सकेको थिएन । दलहरु कमजोर भएका थिए, विद्यार्थी संगठनले दलहरूको आन्दोलनलाई टेवा दिनुपर्ने बेला थियो । जनतामा विश्वास दिलाउनुपर्ने थियो । म नेविसंघको महामन्त्री थिएँ । हामीले माओवादी हिंसा र राजाको निरङकुशता विरुद्ध एकैचोटी आन्दोलन अगाडि बढायौं ।

जब राजद्रोहको मुद्दा लाग्यो

आन्दोलनको अग्रपंतिमा रहेर राजतन्त्रको सान्दर्भिकताका विषयमा वहस, नमुना जनमतसंग्रह लगायतको देशव्यापी अभियान संचालन गरिरहेका थियौं । त्यतिबेला मानवअधिकारकर्मी नागरिक अगुवा कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेको नेतृत्वमा रत्नपार्कमा भएको कार्यक्रममा राजतन्त्र विरुद्ध बोलेको आरोपमा मलाई पक्राउ गरि राजद्रोहको मुद्दा लगाईयो ।

त्यतिवेला अदालतमा उभिएर ‘अब राजतन्त्र र लोकतन्त्र संगै रहन सक्दैन, गणतन्त्र ल्याउनु पर्दछ भनेर म बोलेकै हुँ’ भनेर बयान दिएँ । अदालतमा सुवास नेम्वाङ्, राधेश्याम अधिकारी, शम्भु थापा लगायतले मेरो पक्षमा बहस गर्नुभएको थियो । हिरासतबाटै कान्तिपुर दैनिकमा ‘लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो भने त्यस्तो राजद्रोह मवाट जीवन पर्यन्त भइरहनेछ’ भनेर लेख लेखें । हनुमानढोकामा हिरासतमा रहँदा मलाई धेरै दिनसम्म कसैससँग भेट्न, बोल्न पढ्न दिइएको थिएन । त्यतिवेला अन्तर्राष्ट्रियस्तरवाट आएको समर्थनका पत्रहरू नै मेरा साथी थिए ।

संविधानसभामा एकातिर लोकतन्त्रकै विकल्प खोज्दै हतियार उठाएका हिंसावादी र अर्कातिर परिवर्तनलाई आत्मसात नै गर्न नसकेर पछाडि फर्कन खोजिरहने शक्तिहरूको स्वर निकै चर्को थियो । कांग्रेसको बहुमत थिएन । तैपनि सबैसँग समन्वय गरेर कांग्रेसले आफ्नो नेतृत्वमा संविधान बनायो ।

परिवर्तनलाई स्वीकार गर्न नसक्ने राजतन्त्रको औचित्य नहुने जिकिर सहित जनउत्तरदायी शासन, लोकतन्त्र, गणतन्त्र अपरिहार्य छ भन्ने निष्कर्ष सहित म गणतन्त्रको आन्दोलनमा होमिएको थिएँ । एकातर्फ निरंकुशताको निशाना, अर्कोतर्फ हिंसाको निशाना कतिवेला के हुन्छ भन्ने अवस्था थियो ।

राजद्रोहको मुद्दा लागेको वेला अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले मलालाई आस्थाको बन्दी घोषणा गरेको थियो । अमेरिकाको सिनेटमा नेपालको राजाले गगन थापालाई बन्दी बनाएको छ भनेर आवाज उठेको थियो । युरोपका थुप्रै ठाँउमा मेरो समर्थनमा अभियान भएका थिए । संसारका दर्जनौं देशका नागरिकले ‘हामी साथमा छौं’ भनेर पठाएका पत्रहरूले मलाई अझ उत्साहित बनाउँथ्यो ।

जनआन्दोलन २०६३/०६३ मा सक्रियता

२०६२ चैत २४ गतेदेखि जनआन्दोलन सुरु भयो । आन्दोलनको अवधिमा एउटा मुख्य बक्ताको रुपमा म नै हुन्थेँ । किर्तिपुर, बालाजु, कलंकी, चावहिल काठमाडौं मात्रै होइन, देशको ६० भन्दा धेरै जिल्लामा म बक्ताको रुपमा पुगेको थिएँ । त्यतिवेला सबैभन्दा खोजिएको व्यक्ति थिएँ म । वितेका १५ बर्षको अवधिमा नेपाल, कान्तिपुर, साप्ताहिक, युवामञ्च लगायतका पत्रिकाहरूले हरेक बर्ष घोषणा गर्ने बर्षका चर्चित व्यक्तिहरू मध्येमा नाम पर्नुले यसको पुष्टि गर्छ ।

संसदभित्र र बाहिर सधैं सत्य, न्याय र विधिको पक्षमा आफ्नो ब्रम्हले देखेको कुरा निर्धक्क बोल्दै र लड्दै आएको छु । चाहे पूर्वअख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव राख्दैगर्दा होस् वा न्यायपालिकाको स्वतन्त्रता र सम्मानलाई बचाइराख्ने विषय होस् ।

राजाले २०६३ बैशाख ११ मा संसद पुर्नस्थापनाको घोषणा गरे । त्यसपछि म सीधै पार्टीको राजनीतिमा प्रवेश गरें । काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा निर्वाचित भएँ ।

पहिलो पटक सभासद हुँदा

२०६४ सालको संविधानसभाको निर्वाचन भयो । कांग्रेस निकै खुम्चियो । म समानुपातिकतर्पmबाट सभासद निर्वाचित भएँ । संविधानसभा सदस्यको रुपमा म मौलिक अधिकार समितिमा रहेर काम गरें । गैरआवसीय नेपालीले नागरिकता पाउने विषय, आमाको नामबाट नागरिकता, १८ बर्षसम्म बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउने लगायत दलित अधिकार, महिला अधिकार, युवा अधिकार, आदिवासी जनजाति मधेसी समुदायको अधिकार, शिक्षा, स्वास्थ्य सामाजिक सुरक्षालगायतका विषयमा मैले अग्रसरता लिएको थिएँ । संसदमा पनि मेरो जनसरोकारका विषयमा सक्रियता रह्यो ।

संविधानसभाको पहिलो कार्यकालको अन्तिम क्षणसम्म पनि सहमतिका लागि संघीयताको वैकल्पिक प्रस्तावसहित अधिकतम पहल गरें । तर, प्रयास सफल हुन सकेन । अन्तिम दिनमा सभामुखको कोठामा शीर्ष नेताहरू बस्नुभएको थियो । प्रदेश संख्या लगायतमा कुरा मिलेको थिएन । म गएर प्रादेशिक संरचना सहितको खाका प्रस्तुत गरेको अहिले पनि स्मरण छ ।

आफ्नै सक्रिय जीवनकालमा समृद्ध नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु सुखी राष्ट्रको रुपमा नेपाललाई चिनाउने मेरो सपना छ ।

२०६७ सालमा सम्पन्न १२औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएँ । १३औं महाधिवेशनमा युवा पुस्ता पार्टीको नेतृत्वमा आउने हिम्मत गर्नुपर्छ भन्ने मान्यताका साथ पार्टी महामन्त्रीमा प्रतिस्पर्धा गरेको थिएँ ।

दोस्रो संविधानसभा सदस्य हुँदा

चार वर्षअघि निर्वाचि भएर संविधानसभा प्रवेश गर्दैगर्दा उर्जा र आशीर्वादले जति उत्साहित थिएँ, त्यो विश्वासमा अन्तरनिहित दायित्व पूरा गर्न सकुँला कि नसकुँला भन्ने संशय पनि उत्तिकै थियो । संविधानसभामा एकातिर लोकतन्त्रकै विकल्प खोज्दै हतियार उठाएका हिंसावादी र अर्कातिर परिवर्तनलाई आत्मसात नै गर्न नसकेर पछाडि फर्कन खोजिरहने शक्तिहरूको स्वर निकै चर्को थियो । पहिचान र अधिकारको आन्दोलनका स्वर पनि उत्तिकै घनिभूत थियो ।

संविधानसभामा कांग्रेसको बहुमत थिएन । सडकमा आन्दोलन थियो, तराई–मधेस असन्तुष्ट थियो । संसदभित्र बहिष्कारदेखि कुर्ची तोड्नेसम्मका गतिविधिहरू थिए । यी परस्पर विरोधी शक्तिहरूबीच समन्वय नगरी जनताले आफैं आफ्नो संविधान लेख्ने सात दशक पुरानो सपना साकार पारेरै छाड्यौं ।

तर, विडम्बना, संविधान निर्माणको ऐतिहासिक उपलब्धि हासिल हुँदै गर्दा आफ्नो संविधान आफैंले लेख्ने हाम्रो सार्वभौम अधिकारमाथि छिमेकी राष्ट्र भारतले नाङ्गो हमला गर्यो । ऊ नाकाबन्दी जस्तो मानवताविरोधी अपराधमै ओर्लियो, जुन अस्वीकार्य र, निन्दनीय थियो । हामीले स्वाभिमानपूर्वक लोकतान्त्रिक संविधान जारी गरेर भारतीय व्यवधानको सशक्त प्रतिवाद गर्र्यौं ।

संविधानसभामा नेपाली कांग्रेसको सुझबुझपूर्ण नेतृत्व र समन्वयकारी भूमिका नभएको भए दोस्रो संविधानसभालाई पहिलो जस्तै असफलताको नियतिबाट सायदै बचाउन सकिन्थ्यो होला । जनताको सात दशक लामो कठोर संघर्षबाट प्राप्त हाम्रो लोकतान्त्रिक संविधानमा लिपिबद्ध उपलब्धिलाई कार्यन्वयन गर्दै विलक्षण विविधताले सिँगारिएको हाम्रो सुन्दर देशको समृद्धि र विकासको साझा अभियानमा होमिनु नै अब मेरो जीवनको उद्देश्य हुनेछ ।

संसद हुँदा

सांसदको रुपमा काम गर्दा मैले पार्टीले लिएको पक्षधरता र व्यक्तिगत लाभहानीलाई सधैं उपेक्षा गरें । संसदभित्र बरु दलीय सिन्डिकेटलाई भत्काउन तयार भएँ । तर, जनभावनालाई जहिल्यै शिरोधार्य गरें । संसदभित्र र बाहिर सधैं सत्य, न्याय र विधिको पक्षमा आफ्नो ब्रम्हले देखेको कुरा निर्धक्क बोल्दै र लड्दै आएको छु । चाहे पूर्वअख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव राख्दैगर्दा होस् वा न्यायपालिकाको स्वतन्त्रता र सम्मानलाई बचाइराख्ने विषय होस् ।

डा. गोबिन्द केसीले उठाएको समग्र चिकित्सा शिक्षा क्षेत्रको सुधारको पक्षमा र मेडिकल माफियाको प्रतिवाद गर्दा होस् वा एनसेलको कर छलीका विरुद्धमा । अथवा माओवादी लडाकुमाथि गरिएको चरम शोषण र अपराध होस् वा माओवादी द्वन्द्वबाट पिडितहरू माथिको अन्यायका विरुद्ध । मैले सधैं जनपक्षीय आवाज उठाएको सर्वविदितै छ ।

संसदीय समितिको सभापति हुँदा

मैले संसदको कृषि तथा जलस्रोत समितिको सभापतिको रुपमा झण्डै दुई वर्ष नीतिनिर्माणको तहमा काम गर्ने महत्वपूर्ण अवसर पाएँ । मेरो कार्यकालमा संसदीय समितिलाई नीतिगत काममा केन्द्रीत गरेको थिएँ । दुई वर्षे कार्यकालमा नियमित कामका अतिरिक्त मैले समस्याको ठोस समाधानका लागि सहजिकरण र समन्वय गर्ने, नीतिगत अभाव भए त्यसको निर्माण र परिमार्जन गर्ने लगायतका थप रचनात्मक र दूरगामी काममा विशेष जोड दिएको थिएँ । राष्ट्रिय उर्जा सुरक्षा नीति, कृषि विकास रणनीति, भू–उपयोग नीति, सिंचाई नीति, विपद व्यवस्थापन ऐन लगायतका नीतिगत विषयहरू त्यहि अवधिमा अगाडि बढेका थिए । जसका परिणामहरू क्रमशः देखिन थालेका छन् ।

स्वास्थ्य मन्त्री हुँदा

नौं महिनाको छोटो अवधिका लागि मैले स्वास्थ्य मन्त्रालयको नेतृत्व समाल्ने अर्को महत्वपूर्ण मौका पाएको थिएँ । स्वास्थ्य क्षेत्र मेरा निम्ति नौलो क्षेत्र मात्र थिएन, मेरो पहिलो कार्यकारी भूमिका समेत थियो । राजनीतिक जीवनकै अग्निपरीक्षा जस्तो यो संक्षिप्त अवधिमा थुप्रै चुनौतीहरू थिए । यी सबै चुनौतीका बीचमा रहेर हरेक निर्णय गर्दा त्यसले जनताको हितमा काम हुन्छ कि हुँदैन भन्ने लेखाजोखा गरेर मात्र गरें ।

अबको १५ वर्षभित्र उन्नतिपथमा तीव्र फड्को मारिरहेको देश हामीले आउँदो पुस्तालाई सुम्पने दायित्वबोधका साथ मेरो सक्रिय राजनीतिक जीवन अबको १५ बर्षसम्म मात्र रहनेछ ।

प्रत्येक नागरिकको स्वास्थ्य राज्यको दायित्व हो भन्ने मन्त्रलाई आत्मसात गरी स्वास्थ्यको क्षेत्रमा सुधार गर्न सकिन्छ भन्ने विश्वासका साथ केही तत्काल गर्न सकिने सुधारहरू शुरु गरें भने केहि दीर्घकालीन नीतिगत, कानूनी र संस्थागत संरचनाका सुधारात्मक कार्यहरुको थालनी भएको थियो । जे जति नीतिगत जग वसालिएको छ, म दाबाका साथ भन्नसक्छु, तिनले हाम्रो स्वास्थ्य क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने छ । र, अबको केही दशक नेपालको स्वास्थ्य क्षेत्र त्यही बाटोमा हिँड्नेछ ।

म अहिले पनि झल्झली सम्झन्छु, प्रत्येक दिन मन्त्रालय पुग्दा काखमा बच्चा बोकेका, लठ्ठी टेकेका थुप्रै दाजुभाई दिदीबहिनीहरू मलिन अनुहार लिएर ढोकैमा भेटिनु हुन्थ्यो । अस्पतालमा पुग्दा लामवद्ध त्यस्तै आमा बुबाहरूको वेदनाले मन खिन्न हुन्थ्यो । उहाँहरू मध्ये कतिपयका समस्या सामान्य थिए । तर, धेरैजसतो आफू वा परिवारका सदस्यको मृगौला, मुटु र क्यान्सरको रोगले पीडीत भेटिनुहुन्थ्यो । एउटा सदस्यलाई लागेको असाध्य रोगले पुरै परिवारलाई असहाय बनाएर आफ्नो भएभरको सम्पत्ति सक्दापनि उपचार हुन नसकेपछि त्यहाँ आउनुभएको हो भन्ने म बुझ्दथेँ ।

त्यस अवस्थामा मैले सिमित व्यक्तिलाई आर्थिक सहायता दिएर मन्त्री र प्रधानमन्त्रीसँग पहुँच हुनेले मात्रै उपचार गर्न पाउने अन्यायपूर्ण बाटो रोजिन । विशिष्ट व्यक्तिले पाउने उपचार खर्च नियन्त्रण गरें । र, विपन्न नागरिक लक्षित कार्यक्रमलाई जतिसक्दो विस्तार गरें । डायलेसिस सेवालाई पूर्णतः निःशुल्क गरि काठमाडौं बाहिर पनि विस्तार गरियो । निःशुल्क मृगौला प्रत्यारोपण शुरु भयो ।

सरकारको ढुकुटीबाट मैले आफ्नो निर्वाचन क्षेत्रमा सडक पूर्वाधारमा मात्रै यस क्षेत्रमा करिब ४ अर्ब रकम विनियोजन भएको छ, जुन सम्भवतः देशभरिका निर्वाचन क्षेत्रहरु मध्ये सबैभन्दा धेरै होला ।

बाथ मुटुरोगको निःशुल्क उपचार कार्यक्रम प्रारम्भ भयो । क्यान्सर रोगको उपचार सस्तो र सहज बनाउन क्यान्सर प्रोटोकल निर्माण गरियो । त्यसैगरि देशैभरि पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गर्ने कार्यको थालनी भयो, नसर्ने रोगको परीक्षण देशैभरि गर्ने व्यवस्था अगाडि वढाइयो । मृगौलाको निःशुल्क प्रारम्भिक परीक्षण, नवजात शिशुको निःशुल्क उपचार र नेपालमै कलेजो प्रत्यारोपण सेवा शुरु भयो ।

अस्पतालमा आएका विरामी खर्चको अभावमा उपचारबाटै बञ्चित हुने अवस्था नआओस् भनेर सबै अस्पतालमा सामाजिक इकाई विस्तार गरियो । त्यस्तै, लामो समयसम्म दुर्गम स्थानमा चिकित्सक नपुग्ने, स्वास्थ्य संस्थामा औषधि र उपकरणको अभाव हुने गरेकोमा त्यसको अन्त्य गर्न आवश्यक बजेटको प्रबन्ध र स्वास्थकर्मीको उपलब्धता सुनिश्चित गरियो । यसले केही हदसम्म स्वास्थ्य संस्थामा सेवाको गुणस्तरीयता बढेको छ । र, जनताले उपचारमा थोरै भएपनि राहतको अनुभूति गरेका छन् ।

यी बाहेक दीर्घकालीन रुपमा सबै नेपालीलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गराउनुपर्छ भन्ने लागेर राष्ट्रिय स्वास्थ्य बीमा विधयेक संसदमा पेश गरेको थिएँ, जुन विधेयक अहिले पारित भइसकेको छ । अब सबै नागरिक बीमामा आवद्ध हुनुपर्छ, नसक्नेलाई सरकारले व्यहोर्छ । औषधिमा महङ्गो मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्यका लागि प्रकृया शुरु भएको छ । कोही पनि नागरिक आर्थिक अभावकै कारण उपचारवाट बञ्चित हुनुपर्ने छैन ।

यतिमात्रै होइन, नीतिगत सुधारका कामहरु पनि गरेको छु । पूर्वाधार मापदण्ड तयार गरी ७ वर्षको योजना समेत कार्यन्वयन भइएको छ । झन् झन् व्यापक हुँदै गएको डायबेटिज, ब्लडप्रेसर, क्यान्सर, मुटु र मृगौला सम्बन्धि जस्ता नसर्ने रोगविरुद्धको स्वास्थ्य प्रवर्धनको अभियान, जनता स्वास्थ्य केन्द्रको स्थापना, लगायतका नवीनतम कामहरू अगाडि वढेका छन । मलाई विश्वास छ यी प्रयासले नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै कोशे ढुङ्गा थप्दै जानेछन् ।

बस्नयोग्य काठमाडौं

चुनाबको लागि जनताको बीचमा आउँदा मैले काठमाडौं घोषणापत्र लिएर आएको थिएँ । प्रशासनिक सुविधाका लागि काठमाडौंलाई विभिन्न इकाईमा विभाजन गरें पनि । काठमाडौं उपत्यका प्रकृतिले दिएको एउटा सिङ्गो विलक्षण पर्यावरणीय इकाई हो । तसर्थ उपत्यकाको विकासलाई एकिकृत ढङ्गले बढाइएन भने सडक, यातायात, खानेपानी, फोहोर, वायुप्रदुषण आदि समस्याबाट आक्रान्त काठमाडौंको अवस्था झन् भयावह हुनेछ । यही दिशामा काम गर्ने प्रतिबद्धता अनुरुप उपत्यकाका सबै सांसदसँग मिलेर ‘बस्नयोग्य काठमाडौं’अभियान शुरू गरेको छु ।

‘बस्नयोग्य, स्वस्थ र स्वच्छ काठमाडौं’ निर्माणका निम्ति उपत्यकाका सांसदहरूसँग पोखरी, खोला, पार्क आदि खुल्ला स्थानको संरक्षण र विकास, २० बर्षपछिको काठमाडौंका आवश्यकतालाई ध्यानमा राख्दै सडक, खानेपानी, यातायात, ढल, उर्जा, फोहोरमैला व्यवस्थापन, पूर्वाधार विकास, खुल्ला क्षेत्र संरक्षण लगायतका शहरी संरचनाका बारेमा नयाँ अवधारणा र योजना बनाई तत्कालीन प्रधानमन्त्री र राष्ट्रिय योजना आयोग समक्ष प्रस्तुत गरि त्यसको कार्यन्वयन गर्न निरन्तर लागिपरेको छु ।

निर्वाचन क्षेत्रको विकास

झण्डै दुई दशकसम्म स्थानीय तहको निर्वाचन हुन नसकेको अवस्था एकातर्फ थियो भने अर्कोतर्फ हामीले महाभूकम्प र नाकाबन्दी जस्ता प्रकृति र मानवजन्य त्रासदीलाई पनि यसै समयमा व्यहोर्नुपर्यो । यी बाहेक खानेपानी, फोहोर व्यवस्थापन, सडक–यातायात, वायुप्रदुषण लगायतका समस्या हाम्रा दैनिकी जस्तो भएको सन्दर्भमा सांसदप्रतिको अपेक्षा स्वभाविक रुपमा बढि हुने यथार्थलाई बुझेर सकेसम्म आफ्नो निर्वाचन क्षेत्रको समस्यामा सँगसँगै उभिँदै काम गरिरहेको छु ।

मेरो निर्वाचन क्षेत्रको सम्पूर्ण विकास निर्माणको योजना बैंक तयार गर्ने, त्यसै अनुसार योजना पार्ने र सांसदको कार्यालय मार्फत समन्वय गर्ने व्यवस्था गरेको छु । क्षेत्रको काम गर्दा सरकारको ढुकुटीबाट स्रोतको व्यवस्थापनका साथै सरकार बाहिरका विभिन्न निकायसँगको सहयोग र सहकार्यमा समेत स्रोत जुटाएर काम गर्ने प्रयास गरेको छु । समुदायसँग मिलेर मठ, मन्दिर, गुम्वा, पोखरी पार्कलगायत स्थानीय संस्कृति परम्पराको संरक्षण गर्ने लगायत थुप्रै नवीनतम अभियानहरू प्रारम्भ भएका छन् ।

सरकारको ढुकुटीबाट सडक पूर्वाधारमा मात्रै यस क्षेत्रमा करिब ४ अर्ब रकम विनियोजन भएको छ, जुन सम्भवतः देशभरिका निर्वाचन क्षेत्रहरु मध्ये सबैभन्दा धेरै होला । त्यसवाहेक ढल, खानेपानी लगायतका अन्य पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, खुल्ला क्षेत्र, पार्क, मठ मन्दिर, नयाँ शहरी केन्द्र निर्माण आदिमा केही काम सम्पन्न भइसकेका छन् भने धेरै काम प्रारम्भ भएका छन् ।

यस्ता छन् मैले देखेका सपना

आफ्नै सक्रिय जीवनकालमा समृद्ध नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु सुखी राष्ट्रको रुपमा नेपाललाई चिनाउने मेरो सपना छ । हामी सबैका सपना यसभन्दा पृथक छैनन् । मैले गत निर्वाचनको बखत भनेको थिएँ कि मेरो बुबाले चार दशक अघि प्रवेशिका परीक्षामा नेपालको बारेमा निबन्ध लेख्दै गर्दा अभाव र गरीबीको यथार्थ वर्णन गरेर जे लेख्नु भयो, त्यसको लगभग २० बर्षपछि मैले पनि त्यही परीक्षामा नेपालको ठ्याक्कै त्यसरी नै चित्रण गरेर लेखेँ । बुबा र म दुवैले उस्तै उत्तर लेखेर उत्कृष्ट अंक प्राप्त गर्यौं । म चाहन्छु, दश वर्षपछि मेरी छोरी र उनको शिक्षित पुस्ताले सम्पन्न र सुखी नेपालको वर्णन गर्न पाउन् ।

हरेक दिन १५०० भन्दा वढी युवा आफ्ना असहाय बाबुआमालाई एक्लै छाडेर अवसर र समृद्धिको खोजीमा कतै अज्ञात जगतमा जाँदै गर्दाको दृष्यले हाम्रो राजनीतिलाई गिज्जाइरहेको छ । तिनको श्रम र पसिनाले विदेशमा सडक, पुल, भवन र आश्चर्यजनक वैभवको सृजना गरिरहँदा हामीले भने तिनैको रेमिटेन्सलाई सदुपयोग गरेर एउटा गतिलो जलविद्युत परियोजना समेत बनाउन सकेका छैनौं ।

म चाहन्छु, अबको राजनीतिक यात्रा त्यस्तो नहोस् । अविकास, अस्थिरता, रोग र गरीबीको होइन, विकास, समृद्धि र स्थायित्व नेपालको परिचय बनोस् । हाम्रा छोराछोरीले यही देशमा अवसर र सम्मान पाउन् । यस्तो देश बनोस्, जसले युवाहरूमा योग्यता र परिकल्पनाको प्रतिस्पर्धालाई उत्प्रेरित गरोस् । समस्याको समुद्रमा डुब्न होइन, सम्भावनाको हिमाल चढ्न अभिप्रेरित गर्न सकोस् ।

आगामी ५ वर्ष संविधान कार्यन्वयन गर्दै समृद्धिको दीगो जग बसाल्न सकियो भने मात्र सन २०८० को दशक नेपालको उन्नतिको दशक हुनेछ । अबको १५ वर्षभित्र उन्नतिपथमा तीव्र फड्को मारिरहेको देश हामीले आउँदो पुस्तालाई सुम्पने दायित्वबोधका साथ मेरो सक्रिय राजनीतिक जीवन अबको १५ बर्षसम्म मात्र रहनेछ । त्यसपछिको शान्त र समृद्ध देशलाई नयाँ पुस्ताले नयाँ सोच र योजनाका साथ अगाडि लैजान पाउनु पर्छ । यहि मेरो संकल्प हो ।

सपना साकार पार्न तपाईंको साथ

अब मुलुकको आर्थिक-सामाजिक रूपान्तरणको यात्रामा पनि त्यही जाँगर र समर्पणका साथ अघि बढ्न चाहन्छु । म संघीय लोकतान्त्रिक संविधानको जगमा नेपाललाई अखण्डित, समतायुक्त, सम्पन्न र सम्मानित नेपाली बस्ने साझा घर बनाउनका निम्ति तपाईंसँगै अग्रमोर्चामा कटिवद्ध रहनेछु, जसका लागि मलाई फेरि एक पटक तपाईंको मार्गदर्शन, भरोसा र विश्वास चाहिएको छ ।


पुष्प दुलाल