नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्न भारतीय ‘गो एयर’ थपिदै



काठमाडौं । भारतीय गो एयरले नेपालमा उडान भर्ने तयारी गरेको छ । गो एयरले नेपालबाट दिल्ली–काठमाडौं रुटमा दैनिक एक उडान गर्न लागेको हो ।

गो एयरले उडान थालेमा नेपालमा भारतबाट नेपाल आउने एयरलाइन्सको संख्या ४ वटा पुग्ने छ । हाल भारतबाट जेट एयरवेज, एयर इन्डिया र इन्डीगो एयरलाइन्सले उडान भर्दै आएको छ ।

नेपाल तर्फबाट भने नेपाल वायुसेवा निगमले मात्रै उडान भर्दै आएको छ । विगत लामो समय देखि हिमालय एयरलाइन्सले उडान भर्न अनुमति मागेपनि हालसम्म भारतले स्विकृत दिएको छैन । गो एयरले मुम्बई, दिल्ली, चेन्नई, बैंग्लोर र कोलकत्तामा उडान भर्दै आएको छ । गो एयरले अन्तर्राष्ट्रिय उडाननै नेपालबाट सुरु गर्न लागेको हो ।

सन् २००५ मा स्थापना भएको एयरलाइन्ससंग हाल ३१ वटा विमानमार्फत २३ गन्तव्यमा उडान भर्दै आएको छ । भारत सरकारले ५ वर्ष आन्तरिक उडान नगरेसम्म अन्तर्राष्ट्रिय उडानको अनुमति दिदैंन । गो एयरले निकट भविष्यमै मलेसिया, थाइल्यान्ड, कुवेत लगायत देशमा उडान गर्ने तयारी गरेको छ ।

गो एयरसंग हाल एयरबस ३२०-२०० सिरिजका १९ थान र एयरबस ३२० नियो १२ थान गरी ३१ थान रहेका छन् । गो एयरले एयरबस ३२० नियो जहाज १ सय ३२ वटा अर्डर गरेको छ । गो एयरले गत वर्ष मात्रै १ सय ४ मिलियन डलर नाफा गरेको थियो ।


क्लिकमान्डु