नेपालकै नम्बर प्रयोग गरेर विदेशबाट फोन आए १८८ फोन गर्न टेलिकमको आग्रह



काठमाडौं । विदेशबाट फोन आउदा नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन नम्बर देखिए १८८ नम्बरमा फोन गरेर सूचना दिन टेलिकमले आग्रह गरेको छ ।

अहिले विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट समेत आउने गरेको र यसबाट नेपाल टेलिकमका ग्राहकहरु गुणस्तरीय सेवा प्राप्त गर्नबाट बञ्चित हुनुको साथै यस कम्पनी र सरकारको राजश्वमा समेत असर पर्ने भएकाले यसतर्फ सचेत रहन समस्त ग्राहकहरुलाई कम्पनीले अनुरोध गरेको छ ।

नेपाल टेलिकमका मोवाइल तथा ल्याण्डलाइन फोनमा विदेशबाट कल आउँदा नेपाल टेलिकमकै मोबाइल नम्बर देखिएमा यस्तो कल अबैद्य मार्गबाट आएको टेलिकमले जनाएको छ । यसरी आएको कलको गुणस्तर कमजोर हुनुको साथै राजस्व समेत छलिएको हुन्छ ।

विदेशबाट कल गर्ने व्यक्तिको टेलिफोन नम्बर ट्रयाक गर्न कठिन हुने भएकोले त्यस्ता कलमार्फत विभिन्न प्रकारका अवाञ्छित गतिविधि हुने खतरा हुन्छ ।

ठगी गर्ने नियतले ‘चिठ्ठा परेको’ भन्दै केही दिन यता विभिन्न सेवाग्राहीलाई गरिएका कलहरुमा समेत यस्ता नम्बर प्रयोग भएको पाइएकाले त्यस्ता अबैद्य कलहरु नियन्त्रण गर्न आवश्यक देखिएको हुँदा यसतर्फ कम्पनीले थप सक्रियता बढाएको जनाएको छ ।

यदि विदेशबाट आएको कलमा नेपाल टेलिकमकै मोवाइल नम्बर देखिएमा १८८ नम्बरमा फोन गरी सो नम्बर टिपाइदिनु हुन अनुरोध छ । उक्त नम्बरमा फोन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको टेलिकमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु