केपी ओलीले भने- बहुमत ल्याउँदा पनि काँग्रेसले विकास गरेन



ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा बहुमत ल्याए पनि नेपाली काँग्रेसले देश र जनताका लागि काम गर्न नसकेको आरोप लगाएका छन् ।

वाम गठबन्धन निर्वाचन कमिटी ललितपुरले आज लगनखेलमा आयोजना गरेको चुनावीसभामा उनले भने, ‘बहुमत आउँदा कहिले चलेका उद्योगहरु कौडीको मूल्यमा बेच्ने त कहिले लोकतन्त्र दरबारमा बुझाउने गल्ती काँग्रेसले गरेको छ ।’

अध्यक्ष ओलीले काँग्रेस विगतदेखि नै झुट बोल्न पल्किएको बताउँदै ‘पहिले कम्युनिष्टले बूढाबूढीलाई गोली हानेर मार्छ भन्थ्यो, अहिले त्यो भन्न आँट नगरेर अधिनायकवाद आउने बताउँदैछ,’ उनले भने ।

नेपालमा दुईवटा छिमेकीसँग सम्बन्ध सुधार गर्ने, भएको बाटो खोल्ने, प्रविधिमा आधारित कृषि, दलित, उत्पीडित र लोपन्मुख समुदायका सन्तानलाई निःशुल्क शिक्षा लगायतका काम वामपन्थी सरकारले गर्ने उल्लेख गर्दै उनले शान्तिसुरक्षा नहुँदा दिनहुँ बम पड्किएका घटना आइरहेको छ भने ।

अध्यक्ष ओलीले ‘निर्वाचन नभएर खेदिएका राजा फर्काउने कि बम पड्काउनेलाई नै राजा बनाउने ?’ भनी प्रश्न गर्दै पहिलो चरणको निर्वाचन जसरी नै दोस्रो चरणको निर्वाचन हुनेमा ढुक्क हुनुहोस् भने ।

एमालेका पोलिटब्यूरो सदस्य रघुजी पन्तले अहिलेसम्म राम्रो कामको थालनी कम्युनिष्ट प्रधानमन्त्रीले नै गरेको स्मरण गरे ।

वाम गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं ३ की उम्मेदवारसमेत रहनुभएकी माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले नेपाली काँग्रेसका उम्मेदवारले भोट किन्न खोजेको आरोप लगाए ।

प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार कृष्णलाल महर्जनले विगतमा वामपन्थी शक्ति अलग हुँदा गुमेको ललितपुरका क्षेत्रहरु अहिले एक भएकाले फर्कने विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार नमराज सिलवालले २३ वर्षसम्म शासन गरेको नेपाली काँग्रेसले अबको ५ वर्ष प्रतिपक्षमा बसेर वामपन्थी सरकारबाट सिक्नुपर्ने बताए ।

नेकपा एमालेकी केन्द्रीय सदस्य सुशिला नेपालले ललितपुरमा फेरि पनि वामपन्थीको किल्ला बन्ने विश्वास ब्यक्त गरे । रासस


पुष्प दुलाल