उद्योगपति विनोद चौधरीले भने- विदेशिएका युवालाई स्वदेश फर्काउने चाहना



कपिलवस्तु । नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले देशमा औद्योगीकरणको लहर चलाएर विदेशिएका युवालाई स्वदेश फर्काउने आफ्नो चाहना रहेको बताएका छन् ।

कपिलवस्तुको तौलिहवामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले सो चाहना सवै नेपालीको चाहना भएकाले त्यसलाई साकार पार्न आफू प्रयत्नशील रहेको स्पष्ट पारे । २०४८ सालमा नेपाली कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले २०४८ देखि २०५१ सम्मको अवधिमा देशले विकासको दौरानमा ठूलो फड्को मारेको भएपनि त्यसपछिको राजनीतिक अस्थिरताले जनताको आर्थिक समृद्धि र विकासको चाहना पूरा हुन नसकेको चौधरीले बताए ।

‘आर्थिक उदारीकरणको नीतिलाई उचित ढंगले कार्यान्वयन गरिरहन पाएको भए आज ४३ लाख नेपाली कामका लागि विदेश जानुपर्ने अवस्था आउने थिएन,’ चौधरीले भने ।

तत्कालीन समयमा कांग्रेसले लिएको आर्थिक नीतिको धरातलमा उभिएर आजसम्म पनि न्यून मात्रामै भएपनि विकासका काम हुन सम्भव भएको उनले दोहोर्याए ।

देशको आर्थिक वृद्धिदर हालसम्मकै उच्च रहनु, नेपाल सिमेन्टमा आत्मनिर्भर हुनु, तीन हजार मेगावाटभन्दा बढीका पावर प्लान्ट निर्माण हुनु, तीन/तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा रहनु जस्ता कुराहरु सोही आर्थिक नीतिको देन भएको उनले दाबी गरे ।

बलियो अर्थतन्त्रका लागि स्थीर सरकार आवश्यक गर्ने र लोकतन्त्रमा मात्रै अर्थतन्त्र बलियो हुने भएकाले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको चौधरीले बताए ।

तौलिहवामा पुग्नु अघि मंगलबार नै रुपन्देहीको सालझण्डीमा आयोजित आमसभामा बोल्दै चौधरीले लुम्बिनीको महत्व अन्तर्राष्ट्रिय जगतमा मक्का मदिना सरह रहेकाले त्यसै अनुसारको प्रचार प्रसार र व्यवस्थापन गरेर संसारमै चिनाउनुपर्ने उल्लेख गरे । ऐतिहासिक लुम्विनी क्षेत्रको वृहत्तर विकास गरेर संसारका सबै धर्मावलम्वीको गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

उनी कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइरालासहित दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा समेत सहभागी भएका थिए ।


क्लिकमान्डु