यी स्थानमा टेलिकमले परिर्वतन गर्यो प्रबिधि, के अब सेवामा सुधार आउला ?



काठमाडौं । नेपाल टेलिकमले विभिन्न जिल्लामा भिस्याट प्रविधिमार्फत जिएसएम मोबाइल सेवा उपलब्ध गराइरहेकोमा अब माइक्रोवेभ प्रविधिमार्फत प्रतिस्थापन गर्ने काम अगाडि बढाएको छ ।

पूर्वाञ्चलका सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुङ्गा, उदयपुर, मोरङ, झापा, सप्तरी र सुनसरी जिल्लाका विभिन्न स्थानमा बिटिएस स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत जिएसएम मोबाइल सेवा सञ्चालन गरिएको छ । पुरानो प्रविधिमा भ्वाइस सेवा मात्र उपलब्ध भइरहेकोमा अब नयाँ प्रविधिमार्फत मोबाइलमा भ्वाइस र डाटा दुवै सेवा उपलब्ध गराउन सकिन्छ ।

सोलुखुम्बुको गुदेल, ताप्लेजुङको लेलेप, ओखलढुङ्गाको निसंखे र उदयपुरको खसिबासमा माइक्रोवेभ प्रविधिमार्फत सेवा सञ्चालन गरिएको छ । त्यसैगरी सोलुखुम्बूको खरीखोला, जुनीबेसी र छेसक्याममा पहिले भिस्याटमार्फत सेवा सञ्चालन भइरहेकोमा हाल माइक्रोवेभमार्फत नयाँ प्रविधिमा जिएसएम सेवा सञ्चालन गरिएको छ ।

झापाको भद्रपुर १, दमक नगरपालिका, लखनपुर र मेचीनगर; मोरङको बेलवारी १, २ र ३, मोरङकै दुलारी, सुन्दरपुर तथा उर्लाबारी ४ र ५; सप्तरीको अर्नाहा १ र इनर्वा फुलबारिया १; सुनसरीको हासपोसा, इनरुवा नगरपालिका, इटहरी र महेन्द्रनगर तथा उदयपुरको सिद्धिपुर १ र त्रियुगा ५ मा हालै माइक्रोवेभ मार्फत नयाँ प्रविधिमा जिएसएम सेवा सञ्चालनमा ल्याइएको छ ।

अब ती स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटामार्फत विभिन्न वेबसाइट चलाउन तथा देश विदेशमा भएका आफन्तहरुसँग भिडियो कल समेत गर्न सकिने छ ।


क्लिकमान्डु