टेलिकमले भन्यो- यी नम्बरबाट फोन आए नउठाउनुस्



काठमाडौं । नेपाल टेलिकमले कुनैपनि अपरिचत नम्बरबाट आएका फोन कल नउठाउन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ । टेलिकमले सेवाग्राहीहरुलाई एसएमएस पठाएर नै अपरिचित नम्बरबाट फोन आएमा नउठाउन अनुरोध गरेको हो ।

पछिल्लो समयमा अननोन, नो कलर अाइडी, ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने र रकम माग गर्ने क्रम बढेपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको हो ।

टेलिकमका सह प्रवक्ता शोभन अधिकारीले ग्राहकहरुलाई सचेत गराउन त्यस्तो एसएमएस पठाईएको जानकारी दिए ।

‘सुरक्षाको विषय समेत भएको हुँदा एनटिएको निर्देशनअनुसार नै हामीले आफ्ना यूजर्सलाई सचेत गराएका हौं, यो अवेयरनेसको लागि पनि हो,’ अधिकारीले भने ।

विगत केहि दिनअघिदेखि चिठ्ठा परेको प्रलोभन दिने तथा विभिन्न धम्की दिने जस्ता घट्नाहरु बढिरहेको भन्दै टेलिकमले यस्तो गरिएको जानकारी दिएको छ ।

सह प्रवक्ता अधिकारीले यस्ता फोनहरु ट्रयाक गर्न सकिने र त्यसको लागि केहि समय लाग्ने बताए ।

‘यस्तो फोन ट्रयाक गर्न सकिने संभावना छ र यसअघि पनि हामीले बेला बेलामा ट्रयाक गर्न गरिसकेका छौं,’अधिकारीले भने ।

उनले यस्ता फोनहरु विभिन्न नेटवर्कबाट आउने गरेको र हाल कुन रुटबाट आइरेका छन् भन्ने अनुसन्धान भइरहेको बताए ।

यसअघि पनि नेपाल दूरसंचार प्राधिकरणले अपरिचित नम्बरबाट फोन आउने गरेको हुँदा सचेतनाको लागि सार्वजनिक सूचना नै जारी गरेर सचेत गराएको थियो ।


क्लिकमान्डु