मतदाता परिचयपत्र लिनु भयो ? आज र भोलि मतदान केन्द्रबाट वितरण हुँदैछ



फाइल

काठमाडौं । तपाईसँग मतदाता परिचयपत्र छ कि छैन ? छैन भने तपाईको नजिकको मतदान केन्द्रमा निर्वाचन आयोगका कर्मचारीले तपाईलाई मतदाता परिचयपत्र दिनेछन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने स्थानमा निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता परिचयपत्र आज र भोलि वितरण हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले केही समय पहिले सम्पन्न स्थानीय तहको निर्वाचनमा समेत मतदाता परिचयपत्र नलिएकालाई परिचयपत्र लिन भनेको छ ।

मतदाता नामावलीमा नाम भएका सबैलाई परिचयपत्र दिइने आयोगले जनाएको छ ।
गत भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी गत भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई आयोगले परिचयपत्र वितरण गर्ने जनाएको छ ।

आयोगका अनुसार, मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट नै वितरण गरिनेछ । आयोगले मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात वा नागरिकता साथमा लिएर आउन मतदातालाई आग्रह गरेको छ ।

आयोगले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुको परिचयपत्र यही मंसिर १९ र २० गते वितरण गर्ने जनाएको छ । कुल ३२ जिल्लामा मंसिर १० गते चुनाव हुँदैछ । आयोगकाअनुसार पछिल्लो पटक करिब दश लाख नयाँ मतदाताले परिचयपत्र बनाएका छन् ।


क्लिकमान्डु