निर्वाचनमा यसरी खट्ने भए शीर्ष नेता: आज को कहाँ ?



काठमाडौं । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आज राती १२ बजेखि मौन अवधि सुरु हुने भएकाले प्रमुख दलका शीर्ष नेताले आज विभिन्न जिल्लाका चुनावी कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।

पहिलो चरणको अन्तिम प्रचारका लागि दलका शीर्ष नेताहरू आज विभिन्न ठाउँ सम्बोधन गर्ने गरी कार्यक्रम तय भएको छ ।

कार्यक्रमअनुसार आज प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा आज ६ नम्बर प्रदेशका रुकुम, डोल्पा र कालिकोटका चुनावी सभामा सहभागी हुँदै छन् । हेलिकोप्टर प्रयोग गरेर प्रधानमन्त्री देउवाले ती जिल्लाका चुनावी कार्यक्रममा सम्बोधन गर्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

देउवा ती जिल्लाका चुनावी सभा सकेर आज साँझ काठमाडौँ फर्कने तयारी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले आज दैलेख र सुर्खेतको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । उनको साथमा माओवादी केन्द्रका नेता एवम् संगठन विभाग प्रमुख रामबहादुर थापा पनि सहभागी छन् ।

मेची–काली संयुक्त चुनावी अभियान नाम दिइएको वाम गठबन्धनको सभालाई स्थानीय नेताहरुले समेत सम्बोधन गर्नेछन् ।

एमाले वरिष्ठ नेता माधव नेपाल वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न नुवाकोट जाँदै छन् । महासचिव ईश्वर पोखरेल पनि नुवाकोटकै कार्यक्रममा सहभागिता जनाउनेछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने छोरा स्व.प्रकाश दाहालको काठमाडौंमा श्रद्धाञ्जली सभा हुने भएकाले जिल्ला जाने कार्यक्रम राखिएको छैन । दोस्रो चरणको निर्वाचनको चुनावी सभामा मात्रै उनी सहभागी हुने बताइएको छ ।


क्लिकमान्डु