कोहलपुरमा ४५ करोड लगानीमा सुविधा सम्पन्न होटल खुल्दै



काठमाडौं । कोहलपुरको महेन्द्रनगर रोडमा चार तारे होटल सेन्ट्रल प्लजा होटल संचालनमा आउने छ । ४५ करोड लगानीमामा निर्माण हुने उक्त होटल अत्याधुनिक सेवा र सुविधामा संचालनमा आउन लागेको हो । पश्चिम नेपालको बाँके जिल्लामा अवको केही साता भित्रै होटल संचालनमा आउन लागेको हो ।

७७ वटा रुम रहेको होटल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । स्थल तथा हवाई मार्ग हुँदै मध्य तथा सुदूरपश्चिममा जाने पर्यटकलाई सुविधा दिनेगरी होटल संचालनमा ल्याउन लागेको संचालक देवानन्द अर्यालले जानकारी दिए ।

उनका अनुसार होटलमा ३२ स्क्वयार फिटको स्विमिङ पुल, दुईवटा बार, तीन वटा सेमिनार हल छ । ३०, सय र एक हजार जनाको क्षमता रहेको तीन वटा सेमीनार हल पनि रहेको छ ।

होटलमा स्पा, जिम, सपीङ कम्पलेक्स, बेकरी लगायतको सुविधा रहनेछ । ‘भौतिक निमार्ण कार्य सबै पुरा भएकोले अब होटलको फिनिसिङ पनि अन्तिम चरणमा रहेको छ,’ अर्यालले भने ।

होटलमा तीनवटा भवनहरु छन् । सेन्टर प्लाजा होटलमा ५ वटा प्रेसिडेन्सियल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम छन् ।

विगतमा दक्षिण कोरिया पुगेका अर्याल सन् २००८ मा कोहलपुर फर्किएर होटल व्यवसाय सुरु गरेका हुन् । कोहलपुरमा आउने सबै खालका पाहुनाहरुलाई उपयूक्त हुने खालका रुमहरु तयार गरिएको अर्यालको भनाई छ ।

होटलमा २० फिट माथिबाट वाटर फल गराएर खोलाको ‘र’ मा पौडिए जस्तो महशुस गराउने संरचना तयार गरिएको आर्यालले जानकारी दिए । वर्षमा ९ महिना गर्मी हुने कोहलपुरमा ३० प्रतिशत ग्राहक स्वीमिङ पुलको माध्यमबाट तान्ने लक्ष्य संचालकको छ ।

भारतको राजधानी दिल्लीबाट सडकको बाटो हुँदै काठमाडौं आउने पर्यटकहरु पनि कोहलपुरमा बास बस्न आउने गरेका छन् । बाँके जिल्लामा पछिल्लो समय व्यवसायीक क्रियाकलाप पनि बढ्दै गइरहेका छन् ।

कोहलपुरबाट नेपालगञ्जसम्मको स्तरीय सडक बनाइसकिएको छ । पर्यटकको चहलपहलसंगै पछिल्लो समय दर्जनौ होटलहरु संचालनको तयारीमा रहेको छ ।


क्लिकमान्डु