विनोद चाैधरीले भने- आर्थिक समृद्धिको अभियान नेतृत्व गर्न कांग्रेसको विकल्प छैन



सोलुखुम्बु । नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालमा आर्थिक समृद्धिको अभियानमा नेतृत्व गर्न नेपाली कांग्रेसको विकल्प नभएको बताएका छन् ।

देशका विभिन्न स्थानमा आयोजित राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा मंगलबार सोलुखुम्बु पुगेका उद्यमी चौधरीले नाम्लुङमा आयोजित कार्यक्रममा बोल्दै आर्थिक समृद्धिको परिकल्पना लोकतन्त्रमा मात्र सम्भव हुने धारणा राखे । चौधरीले सोलुखुम्बु पर्यटकीय क्षेत्र भएकाले पर्यटकीय विकासमार्फत् आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै आफू र पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने पनि बताए ।

चौधरीले नेपालमा राजनीतिक एजेण्डा अब बाँकी नरहेकाले आर्थिक समृद्धि हासिल गर्ने दिशामा अगाडि बढ्न जरुरी रहेको धारणा राखे । लोकतन्त्र बिना अर्थतन्त्र बलियो बन्न नसक्ने र बलियो अर्थतन्त्रका लागि स्थीर सरकार आवश्यक रहेको भन्दै उनले आर्थिक समृद्धिका लागि कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुको विकल्प नरहेको दाबी गरे ।

पूर्णकालीन राजनीतिमा प्रवेश गरेपछि नेपाली कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमिति संयोजकको जिम्मेवारी सम्हालेका चौधरीले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे ।

कांग्रेस महामन्त्री डा. सशांक कोइरालाका साथ पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन चौधरी सोलुखुम्बु पुगेका हुन् ।

यसअघि पनि रामेछाप, गोरखा, लमजुङ, नवलपरासीलगायतका स्थानमा कार्यकर्ता भेटघाट एवं आमसभामा कोइराला र चौधरी सँगसँगै सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले अबको नेपाली कांग्रेस आर्थिक समृद्धि र विकासका लागि नयाँ गति र नयाँ दिशाका साथ अगाडि बढ्ने बताए । मंगलबारै सोलुखुम्बुको नेलेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेलेको पर्यटकीय विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।


क्लिकमान्डु