अमेरिकी टिबिएम मेशिनले खन्दैछ भेरी-बबई डाइभर्सनको सुरुङ



काठमाडौं । नेपालमा नै पहिलो पटक भेरी बबई डाइभर्सन आयोजनामा टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गरेर सुरुङ खन्ने काम सुरु भएको छ ।

मेशिन जडान भएपछि हालसम्म करिब २५० मिटर सुरुङ खनिएको छ । कुल १२ किलोमिटर लामो सुरुङ खन्नका लागि अत्याधुनिक मेशिन ल्याइएको हो ।

सो आयोजनामा टिबिएमले सफलता हासिल गरे नेपालको सुरुङ निर्माणमा क्रान्ति नै हुने विश्वास गरिएको छ ।

गत भदौ ३० गते आयोजना स्थलमा ल्याइएको करिब २ सय ७४ मिटर लामो टीबीएम मेसिन जडान गरी सुरुङ खन्ने कार्यको परीक्षण गरिएको थियो । भेरी बबई डाइभर्सन आयोजनाकाअनुसार गत कात्तिक २२ देखि धमाधम सुरुङ खन्न थालिएको हो । अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको उक्त मेसिन आयोजनाले चीनबाट आयात गरिएको हो ।

जानकारहरुकाअनुसार हाल विश्वभर नै टिबिएम प्रयोग गरेर सुरुङ खन्ने कार्य सहज रुपमा अगाडि बढाइएको छ । चीनमा मात्रै हाल दैनिक ४० किलोमिटर बढी सुरुङ टिबिएमले खन्ने गरेको छ ।

भेरी बबई डाइभर्सनमा पनि दैनिक १८ घन्टासम्म टिबिएमबाट सुरुङ खन्ने कार्य भइरहेको छ । आयोजनाको ठकेदारको रुपमा चाइना ओभरसिज इञ्जिनियरिङ गु्रप लिमिटेडले रहेको छ । भेरी बबईको सुरुङ बनाउन करिब २ वर्ष लाग्ने अनुमान गरिएको छ ।

बर्दियाको खेतीयोग्य जमिनमा सिंचाई सुविधा पु¥याउने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सुरुङ निर्माण सुरु भएको हो ।

आयोजनाकाअनुसार बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिंचाई गर्ने लक्ष्य राखिएको छ । स्वदेशी लगानीमा निर्माण सुरु भएको सो आयोजनाको सुरुङ निर्माणमा मात्रै १० अर्ब ५६ करोड लाग्ने बताइएको छ ।


पुष्प दुलाल