दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा पुनः नियुक्त



Digambar Jha
काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई पुनः नियुक्ति गरेको छ ।

सूचना तथा संचार मन्त्रालयले गरेको प्रस्तावको आधारमा मन्त्रिपरिषदले अध्यक्षमा झालाई पुनः नियुक्ति गर्ने निर्णय गरेको हो । मन्त्रालयले कात्तिक २६ गते पठाएको पुनः नियुक्तिको प्रस्तावको आधारमा झालाई अध्यक्षमा पुनः नियुक्तिको निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय भने सार्वजनिक भईसकेको छैन ।

यद्यपि सुचना तथा संचार मन्त्रालयका निमित्त सचिब प्रेमकुमार श्रेष्ठले मन्त्रिपरिषदबाट झालाई पुननियुक्ति गर्ने निर्णय भएको पुष्टी गरे ।

‘मन्त्रिपरिषदले पुनः नियुक्तिको निर्णय गरिसकेको छ, उहाँ (झा) लाई हामीले नियुक्ति पत्र दिइसकेका छैनौं, मन्त्रालयमा प्रक्रियामै रहेकोले चाढै नै पत्र दिन्छौं,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

मन्त्रिपरिषदबाट पत्र आएपछि थप प्रकृयागत काम अगाडि बढाउने मन्त्रालयको भनाइ छ ।

यसअघि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाएको प्रस्तावमा हालका अध्यक्ष झाको कार्यकाल थप गर्नेगरि सिफारिस गरिएको थियो । उनको कार्यसम्पादन मुल्यांकन र यसअघि गरिएको सम्झौताअनुसारको कार्य सन्तोषजनक रहेको भन्दै अध्यक्ष झालाई नै पुनः नियुक्ति गर्ने गरि सिफारिस गरिएको थियो ।

‘मन्त्रिपरिषदले पुनः नियुक्तिको निर्णय गरिसकेको छ, उहाँ (झा) लाई हामीले नियुक्ति पत्र दिइसकेका छैनौं, मन्त्रालयमा प्रक्रियामै रहेकोले चाढै नै पत्र दिन्छौं,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

मन्त्रालयले दूरसंचार प्राधिकरणमा रिक्त हुने अध्यक्ष र सदस्य (कानून) पदमा नियुक्त सिफारिस गर्न सूचना तथा संचार मन्त्रालयका सचिवको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । सो सिफारिस समितिले हालका अध्यक्ष झाले प्राधिकरणको उद्देश्य प्राप्तिमा नीतिगत, कार्यगत, संरचनागत तथा सेवा प्रवाहको क्षेत्रमा सन्तोषजनक कार्य सम्पादन गरेकोले अध्यक्ष पदमा पुन नियुक्त गर्न सिफारिस गरेको थियो ।

‘ऐनमा नै अध्यक्षको काम सन्तोषजनक देखाई पुनः नियुक्तिको लागि सिफारिश गर्न सकिने उल्लेख छ, त्यही भएर हामीले सिफारिस गरेका थियौं,’ सिफारिस समितिका एक सदस्यले भने ।

नेपाल दूरसंचार ऐन २०५३ को दफा ८ मा अध्यक्ष तथा सदस्यको पदावधिको बारेमा उल्लेख छ । त्यसमा सरकारले गठन गरेको समितिले अध्यक्ष तथा सदस्यको काम सन्तोषजनक देखाई पुनः नियुक्तिको लागि सिफारिश गरेमा नेपाल सरकारले निजलाई अध्यक्ष तथा सदस्यमा पुनः नियुक्त गर्न सक्नेछ भन्ने उल्लेख छ ।

प्राधिकरण अध्यक्ष झाको कार्यकाल मंसिर १८ गते समाप्त हुँदै थियो । ६५ बर्षको उमेरसम्मका ब्यक्तिले मात्रै सरकारी नियुक्ति पाउने प्रावधान छ । प्राधिकरणको अध्यक्षको कार्यकाल ५ बर्षको हुन्छ ।

यसैगरी मन्त्रालयमा गठित समितिले प्राधिकरणको बोर्ड सदस्यको लागि भने सार्वजनिक सूचनामार्फत आवेदन माग गरेको छ । वर्तमान कानून हेर्ने सदस्य धनराज ज्ञवालीको समयावधी यहि मंसिर १८ गते सकिने हुँदा सो रिक्त हुने पदमा नयाँ सदस्य नियुक्तिको बाटो खुला गरेको हो । सो सूचनामार्फत आवेदन गर्नेहरु मध्येबाट नयाँ सदस्यको सिफारिस हुने छ ।

कात्तिक २८ गते जारी सूचनाअनुसार १५ दिनभित्र सो सदस्य पदका लागि आवेदन दिन सकिने म्याद तोकिएको छ ।


क्लिकमान्डु