बार्षिक १८ प्रतिशत प्रतिफल दिने गरी आयो सानिमा म्युचुअल फण्ड




काठमाडौं । सानिमा क्यापिटलले ७ बर्षे सानिमा इक्विटी फण्ड ल्याएको छ । बार्षिक करिब १८ प्रतिशत प्रतिफल दिने सो फण्ड मंसिर १२ गतेदेखि किन्न पाइनेछ ।

आफूसँग पैसा भएका तर लगानी गर्ने उपयुक्त ठाउँ खोजिरहेका लगानीकर्ताको लागि यो फण्ड लगानीको उपयुक्त साधन हो । ७ बर्षमा १२८ प्रतिशत प्रतिफल दिने गरी फण्ड डिजाइन गरिएको स्कीम म्यानेजर जनार्दन आचार्यले जानकारी दिए ।

‘७ बर्षमा १२८ प्रतिशत प्रतिफल दिने गरी फण्ड संचालन गर्न लागेका छौं, बार्षिक कम्तिमा १५ प्रतिशत र बढीमा १८ प्रतिशत जति प्रतिफल लगानीकर्ताले पाउँछन्,’ आचार्यले क्लिकमाण्डूसँग भने ।

यो कोषको प्रवद्र्धक सानिमा बैंक हो भने ब्यवस्थापक सानिमा क्यापिटल हो । अहिले १ अर्ब २० करोड रुपैयाँको कोष ल्याउन लागिएको हो । मंसिर १२ गतेदेखि खुल्ला हुने सो इक्वीटी छिटोमा मंसिर १५ गते बन्द हुनेछ ।

अहिले १ अर्ब २० करोड रुपैयाँको कोष ल्याइएको भएपनि बढी माग भएमा बढाउन सकिने अबस्था रहेको आचार्य बताउँछन् । कोष संचालनमा ल्याउँदा बढी माग भएमा २५ प्रतिशतसम्म बढाउन पाइने कानुनी ब्यवस्था अनुसार नै १ अर्ब ५० करोड रुपैयाँसम्म पुग्न सक्ने उनको भनाइ छ । यस्तै अहिले सार्बजनिक गरिएको इक्वीटी सबै विक्री नभएमा कम्पनीले विक्री बन्द हुने समय केही बढाउन सक्नेछ ।

इक्वीटी खरिद गर्न चाहने ब्यक्ति वा संस्थाले १ हजार रुपैयाँदेखि २ करोड ४० लाख रुपैयाँसम्मको इक्विटी खरिद गर्न सक्नेछन् । इक्विटी खरिद गर्नको लागि आश्वा प्रणाली अनुसार नै गर्न सकिनेछ ।


क्लिकमान्डु