बालुवा चालेर परिवार पाल्नुपर्छ, जसले सहयोग गर्छ उसैलाई भोट



कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका-११ भुजेलाका कुले विकले महाकाली नदीको बगरमा बालुवा चाल्दै आएको दुई दशक बितेको छ । १० वर्षको उमेर छँदादेखि नै अभिभावकसँगै बालुवा चालेर बिक्री गरेर आएको पैसाले घर खर्च चलाउँदै आएका उनि पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान गर्न निकै हौसिएका छन् ।

महाकाली नदीको बाढीले घरबारविहीन बनाइएका परिवारको पुनः स्थापन गर्ने उम्मेदवारलाई उनले मतदान गर्ने सोच बनाएका छन् । बालुवा चालेर जीविका धान्दै आए पनि कसैले अहिलेसम्म हाम्रा पीडा बारे बुझेका छैनन् उनले भने, ‘घरबासका लागि जग्गा, रोजगारीको उचित व्यवस्था र स्वास्थ्योपचारको व्यवस्था गर्न उत्सुक देखिएका उम्मेदवारलाई मतदान गर्छु ।’

आधा उमेर नदीको बगरमै बित्यो, आर्थिक अवस्था कमजोर हुँदा बगरको बालुवालाई कमाउने साधन बनाउनु पर्यो उनले भने, ‘हामीले त दुःख काट्यौँ, काट्यौं पछिका सन्ततीले दुःख काट्न नपरोस् भन्ने सोचेका थियौँ तर घरको चुलो नै नबल्ने भएपछि आफूसँग बालुवा चाल्ने काममा लगाउनु परेको छ ।” विद्यालय पढ्दै आएका बालबालिकालाई बालुवा चाल्न लगाउने कार्य रहर नभएर बाध्यता हो उनीसँगै नदीकै बगरमा बालुवा चाल्दै आएकी पुनम सुनारले भनिन्, ‘घरको आर्थिक अवस्थाले बालुवा चाल्न बाध्य बनाएको छ ।’

‘व्यवसाय गर्नका लागि पैसा छैन जसले बालुवा चाल्नेहरुको समस्या समाधान गर्ने योजनासहित मत माग्न आउँछ उसैलाई हाम्रो भोट जान्छ’, उनले भनिन् । ‘नदीमा बाढी आएका बेला पीडामा मलम लगाउन धेरै आउने गरे पनि नदी नियन्त्रण गर्न र घरबासविहीन भएका परिवारको सोधीखोजी गर्न र पुनः स्थापनका कार्यअगाडि बढाउन कोही आउँदैनन् ।’ उनको गुनासो छ ।

महाकाली नदीको बगरमा बालुवा चाल्ने ६० जना परिवार हिउँदमा नदीकै बगरमा झुपडी बनाई बस्दै आएका छन् । बर्सात शुरु हुनुअगावै सबैजना नदीको बाढी नलाग्ने ठाउँमा झुपडी बनाई बस्ने गरेका छन् । बालुवा चालेर ५०० देखि १००० सम्म एक परिवारले कमाउने गरेका छन् । बालुवा बिक्री नभएका बेला कति दिन भोकै बस्नु परेको पीडा धेरैको छ । रासस


क्लिकमान्डु