मंसिरमा बिहे गर्दै हुनुहुन्छ ? जान्नुहोस्, पार्टी प्यालेसमा कति खर्च लाग्छ



काठमाडौं । भोलिदेखि मंसिर लाग्दैछ । मंसिर भन्ने वित्तिकै हामी बिबाह गर्ने महिना भनेर पनि बुझ्छौं । झरीबादल अनि चाडबाड सकिने वित्तिकै चिसो मौसमको सुरुवात पनि यही महिनाबाट हुन्छ । किसानहरुले अन्नपात पनि थन्क्याइसक्ने भएकाले खान लाउनको दुख नहुने भएपछि मंसिरमा बिहे गर्ने प्रचलन भएको हुनसक्छ सायद ।

पहिले पहिले बिबाह घरमै हुन्थ्यो । भोज पनि घरमै गरिन्थ्यो । तर अचेल समय फेरिएको छ । खासगरी शहरी क्षेत्रमा पार्टी प्यालेसमा बिबाह र भोज गर्न थालिएको छ ।

बिबाहका लागि ठूलो ठाउँको आवश्यकता पर्ने भएकाले पनि काठमाडौंजस्ता ठूला शहरहरुमा पार्टी प्यालेसमा बिबाह गर्ने चलन बढेको हो । पार्टी प्यालेसमा पर्याप्त ठाउँ मात्रै हुँदैन, त्यहीँ खानाको व्यवस्था पनि हुन्छ ।

कतिपयले घरबाटै बिबाह गरे पनि पार्टी प्यालेसमा भोज खुवाउँछन् ।

बिबाह मात्रै होइन, ब्रतबन्ध, बर्थ डे, राजनीतिक गोष्टी तथा भेला, स्कुल/कलेजका सहकारीका साधारणसभासमेत पार्टी प्यालेसमा हुन्छन् आजभोलि ।

यो वर्ष मंसिरमा ६ दिन विवाहको लगन परेको छ । मंसिर लाग्नुभन्दा १ साताअघि नै काठमाडौंका पार्टी प्यालेस तथा ब्यान्क्वेडहरु धमाधम बुकिङ भइरहेको व्यवसायीहरु बताउँछन् ।

नक्साल ब्यान्क्वेडले अहिलेसम्म २५ वटा पार्टी बुकिङ लिइसकेको जनाएको छ । ५ वर्षदेखि सञ्चालन हुँदै आएको ब्यान्क्वेडले प्रतिव्यक्ति १५ सय रुपैयाँसम्म खाना शुल्क लिने गरेको ब्यान्क्वेडका कर्मचारी रुप केसीले जानकारी दिए ।

‘पहिलाको जस्तो खासै फाइदा छैन, अहिले जतात्यतै पार्टी प्यालेस र ब्यान्क्वेड छन्,’ केसीले क्लिकमाण्डूसँग भने ।

१२ सय जनासम्म बस्न सक्ने क्षमता रहेको सो ब्यान्क्वेडमा हलको १५ हजार रुपैयाँसम्म गर्छ । यसरी गरिने एउटै विवहा पार्टीमा मानिसहरुले ६ लाखसम्मको खर्च गर्ने गरेको उनको भनाई थियो ।

व्यवसायीहरुका अनुसार एउटा पार्टी प्यालेसमा एउटा बिबाह गर्दा खाना र हल गरी १५ लाख ५० हजार रुपैयाँसम्म खर्च हुन्छ । त्यसबाहेक मदिरा र अरु कुरा जोड्ने हो भने जति खर्च बढाउन खोज्ने हो त्यति नै पुग्छ ।

सामान्यतया काठमाडौंका पार्टी प्यालेस तथा ब्यान्क्वेडहरुमा एउटा पार्टी गर्दा २० देखि ५० हजार रुपैयाँसम्म तिर्नुपर्छ । प्राय पार्टी प्यालेसहरुले प्रतिव्यक्ति ८ सयदेखि १५ सय रुपैयाँसम्म लिने गरेको पाइन्छ ।

‘अघिल्लो वर्षतिर यतिखेरसम्म १६ वटा बुकिङ भइसकेको थियो यो पाली चुनावले गर्दा खासै बुकिङ हुन सकेको छैन्,’ थापाले भने ।

योगम्बर ब्यान्क्वेडले अहिलेसम्म ७ वटा पार्टी बुकिङ लिइसकेको छ । सो ब्यान्क्वेडमा हलको एक दिनको ५० हजार रुपैयाँ रहेको छ । प्रतिव्यक्ति प्लेटको ८ सय देखि १२ सय रुपैयाँसम्म लिने गरेको सो ब्यान्क्वेडमा १२ सयभन्दा बढी मानिसहरु अटाउने सुमित्रा त्वायनाले बताइन् । यसरी विवहाको भोज गर्दा एउटै विवहामा १४ लाख ९० हजार रुपैयाँसम्मको खर्च हुने गरेको उनको भनाई छ ।

थापागाउँ ब्यानक्योडमा अहिलेसम्म ९ वटा पार्टी बुकिङ भैसकेको छ । रेगुलर, डिलक्स र स्टयान्डर गरी ३ प्रकारको खाना राखिएको सो ब्यानकोरले प्रतिव्यक्ति ८ सय देखि ९०० रुपैयाँसम्म लिने गरेको छ । प्राय बाहिरबाट आएकाले विवहा र भेटघाटलाई बढी महत्व दिने भएकाले ३ सय ५० जना मानिसहरु आउने गरेको सञ्चालक दिपक थापाले बताए ।

सो ब्यान्क्वेडमा हुने एउटा विवहामा मानिसहरुले ३ लाख १५ हजार रुपैयाँसम्म खर्च गर्ने गरेका छन् ।

‘अघिल्लो वर्षतिर यतिखेरसम्म १६ वटा बुकिङ भइसकेको थियो यो पाली चुनावले गर्दा खासै बुकिङ हुन सकेको छैन्,’ थापाले भने ।

७ वर्षदेखि सञ्चालनमा आएको कालिमार्टी ब्यानक्योरले खानाको शुल्क प्रतिव्यक्ति १२ सय रुपैयाँ लिने गरेको छ । अहिलेसम्म १७ वटा पार्टी बुकिङ भइसकेको सो व्यान्क्वेडमा १५ लाख ६० हजार रुपैयाँसम्म खर्च हुन्छ ।

५ सय जना अटाउने अनमोल क्याट्रीङमा हल र साउन्ड सिस्टम गरी २० हजार पर्छ । प्रतिव्यक्ति खानाको ५ सय रुपैयाँ लाग्छ । त्यस्तै, ३ सय ५० जना मानिसहरु अटाउने सिडब्लु पार्टी प्यालेसले प्रतिव्यक्तिको हिसाबले सुल्क लिने गरेको छ ।

उपत्यकाका कुन नगरमा पार्टी प्यालेस चलाउँदा कति कर लाग्छ ?

शहरबासीको बढ्दोे मोहसँगै पार्टी प्यालेस संचालन गर्नेहरुको संख्या उपत्यकामा बढ्दो क्रममा छ । त्यसैलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका ११ वटा नगरपालिकामा पार्टी प्यालेस संचालन गर्दा कति कर लाग्छ त ?

भक्तपुर नगरपालिकाले श्रेणी अनुसार पार्टी प्यालेसबाट कर उठाउने गरेको छ । नगरपालिकाले क श्रेणी २५ हजार रुपैयाँ, ख श्रेणी २० हजार रुपैयाँ र ग श्रेणी १५ हजार रुपैयाँ कर लिने गरेको छ । साथै, नगरपालिकाले सफाई शुल्क बेग्लै लाग्ने जनाएको छ ।

बूढानीलकण्ठ नगरपालिकाले बार्षिक ५ हजार रुपैयाँ पार्टी प्यालेसबाट कर उठाउने गरेको छ ।

चन्द्रगिरी नगरपालिकाले पार्टी प्यालेसको श्रेणी अनुसार कर दर कायम गरेको छ । नगरपालिकाले क श्रेणी ५ हजार रुपैयाँ र ख श्रेणी ३ हजार रुपैयाँ कर दर कायम गरेको छ ।

गोदावरी नगरपालिकामा पार्टी प्यालेस संचालकले बार्षिक २५ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।  कागेश्वरी मनहरा नगरपालिकाले बार्षिक ५ हजार रुपैयाँ पार्टी प्यालेसबाट कर उठाउने गरेको छ ।

काठमाडौं महानगरपालिकाले पार्टी प्यालेससँग १५ हजार रुपैयाँ कर लिने गरेको छ । किर्तिपुर नगरपालिकालाई पार्टी प्यालेस संचालकले ५ हजार रुपैयाँ कर तिर्नु पर्ने हुन्छ ।

ललितपुर महानगरपालिकले पार्टी प्यालेससँग ६ हजार रुपैयाँ कर उठाउने गरेको छ । नागर्जुन नगरपालिकाले १५ हजार रुपैयाँ कर उठाउने गरेको छ।

मध्यपुरठिमी नगरपालिकाले पार्टी प्यालेसको श्रेणी अनुसार करको वर्गिकरण गरेको छ । नगरपालिकाले क श्रेणी १० हजार रुपैयाँ र ख श्रेणी ६ हजार रुपैयाँ कर लिने व्यवस्था गरेको छ ।

टोखा नगरपालिकाले पार्टी प्यलेससँग ५ हजार रुपैयाँ कर लिने गरेको छ ।


पुष्प दुलाल