बचतको ब्याजदर अब ३ प्रतिशतभन्दा तल नझर्ने



काठमाडौं । बैंकमा साधारण बचत खाता खोलेर पैसा जम्मा गर्नेको ब्याजदर अब ३ प्रतिशतभन्दा तल नजाने भएको छ ।

नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको ब्याजदर करिडोरको कारण बचतमा ३ प्रतिशतभन्दा ब्याजदर तल ओलर्ने छैन । राष्ट्र बैंकले अल्पकालिन ब्याजदर नियन्त्रणको लागि ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको हो ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत रहेको छ । यस्तै ब्याजदर करिडोर अन्तर्गत २ हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । .ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा ब्याजदर करिडोर मार्फत बैंकहरुसँग बढी भएको तरलता ३ प्रतिशत ब्याजदरमा लिने र तरलता अभाव भएको अवस्थामा बैंकहरुलाई ५ प्रतिशत ब्याजदरमा तरलता छाड्ने बताउँछन् ।

‘३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा पैसा जम्मा गर्न पाएपछि सामान्य बचतको ब्याजदर ३ प्रतिशतभन्दा तल झर्दैन,’ थापाले क्लिकमाण्डूसँग भने, ‘कर्जामा पनि राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजदरमा पैसा पाएपछि स्प्रेड दर अनुसार ब्याजदर निर्धारण गर्नुपर्छ ।’

यसरी कर्जाको ब्याजदरमा १० प्रतिशत हुन्छ ।

राष्ट्र बैंकले लामो समयपछि ब्याजदर करिडोरलाई कार्यान्वयनमा ल्याएको हो । यसले अल्पकालिन ब्याजदर उतारचढावलाई नियन्त्रणमा गर्छ ।

‘करिडोर कार्यान्वयनपछि बचतको ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बैंकहरुलाई नै प्रश्न उठ्छ । बैंकहरुले बचत खाताको ब्याजदर ३ प्रतिशत नै नपुर्याउनेमा काम गरिरहेका छन् ।

राष्ट्र बैंकको ब्याजदर करिडोरको व्यवस्थाले बचत खातामा १ प्रतिशत ब्याजदर दिएका वाणिज्य बैंक लगायतका पुराना तथा ठूला बैंकलाई बचत खातामा ब्याजदर बढाउन दवाव पुग्छ ।

नेपाल बैकर्स संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शसिन जोशी ब्याजदर करिडोरले बचत खाताको ब्याजदर ३ प्रतिशतभन्दा तल नजाने बताउँछन् ।

‘ब्याजदर करिडोरमा भनिएको व्यवस्था अनुसार काम भएमा ब्याजदर ३ प्रतिशतभन्दा तल जादैन,’ जोशीले क्लिकमाण्डूसँग भने, ‘करिडोर कार्यान्वयनपछि ब्याजदरको उतारचढाव रोकिन्छ ।’

राष्ट्र बैंकले बजारमा तरलता पठाउनको लागि दुई साता अवधीको रिपो जारी गर्ने छ । बजारबाट पैसा खिच्नको लागि दुई साता अवधीको निक्षेप संकलन गर्ने छ । जसमा रिपोको ब्याजदर ५ प्रतिशत तथा निक्षेप संकलनमा ३ प्रतिशत हुने छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा ब्याजदर करिडोरको व्यवस्थाले केही समय भित्रमा ब्याजदरका स्थिरता आउने बताए ।

‘करिडोर कार्यान्वयनपछि बचतको ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बैंकहरुलाई नै प्रश्न उठ्छ,’ थापाले थपे, ‘बैंकहरुले बचत खाताको ब्याजदर ३ प्रतिशत नै नपुर्याउनेमा काम गरिरहेका छन् ।’

बैंकहरुले करिडोरको व्यवहारिक पक्ष कार्यान्वयन राष्ट्र बैंकले जारी गर्ने उपकरणमा भर पर्ने बताउँछन् ।

‘रिपो र निक्षेप संकलन नियमित नभएमा करिडोरले कल्पना गरेको ब्याजदरमा स्थिरता आउने छैन,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘राष्ट्र बैंकले कति रकमको उपकरण प्रयोग गर्न सक्छ त्यसमा ब्याजदरको स्थिरता निर्भर हुन्छ ।’

राष्ट्र बैंकले आज ब्याजदर करिडोर प्रणाली अनुसार बैंकहरुबाट भएको अधिक तरलता खिच्नको लागि १५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा ३ प्रतिशत ब्याजदरमा निक्षेप लिने भनिएको छ ।


पुष्प दुलाल