सेञ्चुरी बैंकको ‘मल्टि करेन्सी कार्ड’बाट १६ देशका पैसा निकाल्न पाइने



काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले बुधबारदेखि मल्टि करेन्सी कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले जारी गरेको यो कार्ड बोक्ने ग्राहकले विदेश जाँदा विभिन्न १६ देशमा यही कार्डबाट सम्बन्धीत देशका मुद्रामा पैसा निकाल्न सक्नेछन् ।

यो कार्डको प्रयोगसँगै विदेशी मुद्राको समस्या झेलिरहेका ग्राहकलाई फाइदा पुग्ने बैंकले जनाएको छ । सेञ्चुरी बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा यस्तो सेवा सुरु गरेको हो । यो सेवा नेपालमै पहिलोपटक भएको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले एक्सिस बैंककसँगकै सहकार्यमा ‘इन्डो-नेपाल इजी रेमिट’ सेवा पनि सुरु गरेको छ । जसमार्फत भारतमा रहेका नेपालीहरुले एक्सिस बैंकका ३ हजार ५ सय शाखामार्फत् नेपालमा सहजै रेमिट्यान्स पठाउन सक्नेछन् ।

त्यसैगरी बैंकले मोवाइल बैंकिङका लागि मोवाइल एप्ससमेत सुरु गरेको छ । एप्समार्फत ग्राहकहरुले मोवाइलबाटै भुक्तानी ट्रान्सफर, युटिलिटी बिल पेमेन्टका साथै विभिन्न भेन्डरहरुको सुविधा लिन सक्नेछन् ।

बैंकले निकट भविष्यमै थप २ वटा वित्तीय संस्थासँग मर्ज गरी एकीकृत कारोबार गर्ने जनाएको छ । एकीकृत कारोबार पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ ।


पुष्प दुलाल