अमेरिकी विश्‍वविद्यालयमा भर्ना हुने नेपाली विद्यार्थीको सङ्ख्या तीव्र गतिमा बढ्दो



काठमाडौं । सन् २०१७ को ओपन डोर्स रिपोर्टका अनुसार अमेरिकी कलेज तथा विश्‍वविद्यालयमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये नेपाली विद्यार्थीको सङ्ख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ ।

इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरोद्वारा वार्षिक रूपमा प्रकाशित हुने उक्त प्रतिवेदनले संयुक्त राज्य अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग सम्बन्धित प्रवृत्तिको निरीक्षण गर्दछ ।

अमेरिकी उच्च शिक्षा संस्थाहरूमा नेपाली विद्यार्थीहरूको भर्नामा २० प्रतिशत प्रतिशत वृद्धि भई कुल सङ्ख्या ११ हजार ६०७ पुगेको प्रतिवेदनले जनाएको छ । स्नातक तथा स्नातकोत्तर तहको अध्ययनका लागि विद्यार्थी अमेरिका पठाउने शीर्ष २५ मुलुकमध्ये नेपाल १२औँ स्थानमा छ ।

स्नातक तहमा अध्ययनरतमध्ये ४२.२ प्रतिशत नेपाली विद्यार्थी छन्, जुन २५ देशमध्येकै सबैभन्दा उच्च वृद्धि हो । अमेरिकामा हाल १० लाख ८० हजार अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन्, जुन अहिलेसम्मकै उच्च सङ्ख्या समेत हो ।

‘हरेक वर्ष शैक्षिक तथा व्यावसायिक विकासका लागि उपलब्ध अवसरको लाभ लिन हजारौँ नेपाली विद्यार्थीहरू अमेरिका जान्छन् । आफ्नो परिश्रम, अध्ययन गर्ने विषय बारे उपयुक्त सोचविचार, सचेत आर्थिक योजनाका साथै राम्रो ग्रेड र टेस्ट स्कोर सहितको शैक्षिक रेकर्डका कारण उनीहरू त्यहाँ पुगेका हुन् ।’ कार्यवाहक अमेरिकी राजदूत माइकल गोन्जालेसले भने ।

ओपन डोर्सले सार्वजनिक गरेको यस नयाँ तथ्याङ्कले युनाइटेड स्टेट्स एजुकेशन फाउन्डेशनस्थित एजुकेशन युएसए कार्यालय जस्ता योग्यताप्राप्‍त परामर्श केन्द्रमार्फत अमेरिकी उच्च शिक्षा हासिल गर्ने शैक्षिक रूपमा योग्य नेपाली विद्यार्थीहरूको सफलता अङ्कित गरेको छ ।

अमेरिकी विदेश मन्त्रालय र अमेरिकी शिक्षा मन्त्रालयद्वारा संयुक्त रूपमा मनाइने अन्तर्राष्ट्रिय शैक्षिक साताको अवसर पारेर समेत उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । भावी पुस्ताका अगुवाहरूलाई अन्य देशबाट अध्ययन तथा अनुभव आदानप्रदानका लागि अमेरिकामा आकर्षित गर्ने गरी सो साताव्यापी शैक्षिक कार्यक्रम तर्जुमा भएको हो ।

सन् २०१७ को अन्तर्राष्ट्रिय शैक्षिक साताको समर्थनमा यस हप्‍ता अमेरिकी दूतावासका साझेदार संस्था र अमेरिकन स्पेसहरूले “गेट इन्सपायर्ड” (प्रेरिरत होऔँ) विषयक कार्यक्रम आयोजना गर्नेछन्, जसमा अमेरिकी विश्‍वविद्यालयहरूबाट अध्ययन पूरा गरी फर्किएका नेपाली पूर्वविद्यार्थीहरू सरिक हुनेछन् । साथै दूतावासद्वारा काठमाडौँमा प्रदान गरिने सेवाहरूमा प्रत्यक्ष पहुँच नहुने विद्यार्थीहरूका लागि वेबिनार, फेसबुक लाइभ र अनलाइन कलेज फेयर (शैक्षिक मेला) को समेत आयोजना गरिनेछ ।


पुष्प दुलाल