बुढीगण्डकीको अनुमति खारेज भएलगत्तै पश्चिम सेतीको सम्झौता गर्न चिनियाँ टोली नेपाल आउँदै
काठमाडौं । बुढीगण्डकी जलविद्युत् आयोजनाको जिम्मा लिएको चिनियाँ कम्पनी गेजुवाको अनुमतिपत्र खारेज गरेको ३ दिनपछि अर्थात् भोलि उच्चस्तरिय चिनियाँ प्रतिनिधिमण्डल नेपाल आउने भएको छ ।
चीनको प्रतिष्ठित ऊर्जा उत्पादक कम्पनी थ्री गर्जेजको उपाध्यक्षसहितको टोली बुधबार नेपाल काठमाडौं आइपुग्ने छ । उक्त टोलीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी तथा अन्य विविध विषयमा छलफल गर्ने बताइएको छ ।
ऊर्जा मन्त्रालयका एक वरिष्ठ अधिकारीकाअनुसार नेपाल विद्युत् प्राधिकरण र चिनियाँ थ्री गर्जेज कम्पनीका प्रतिनिधिबीच ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको संयुक्त लगानी सम्झौतामा हस्ताक्षर गर्ने तयारी समेत भएको बताइन्छ ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी पनि सम्झौता हुनसक्ने बताए । छलफल अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
सरकार र चिनियाँ पक्षबीच भएको समझदारीमा ७५ प्रतिशत चिनियाँ कम्पनी र २५ प्रतिशत प्राधिकरणले लगानी गर्ने उल्लेख छ । उक्त सम्झौता ०६९ भदौमा भएको थियो ।